
आउँदो सोमबारदेखि प्रारम्भ हुन गईरहेको महान धार्मिक उत्सव ‘गणेशोत्सव’ को तयारी भारतका विभिन्न शहरमा भव्य रुपले चलिरहेको छ । भारतमा घर–घरमा गणेश मुर्ति स्थापना गरी दस दिनसम्म यो उत्सव अत्यन्त श्रद्दा र उल्लासका साथ मनाइन्छ।
त्यसो त भारतभरी नै गणेश उत्सव धुमधामका साथ मनाइन्छ। तर दक्षिण भारत र महाराष्ट्रमा भने यस उत्सवको भव्यता वर्णनातीत हुन्छ ।
यहाँका घर–घरमा गणेश मुर्ति स्थापित गरेर श्रद्दा भक्तिपूर्वक उल्लासका साथ् गणपति पूजन गरिन्छ । मुम्बईमा गरिने दस दिने गणपति बप्पाको भक्तिपूजनको विशालता र अति भव्यताको अनुमान यसै एक उदाहरणले गर्न सकिन्छ ।
मुम्बईका टोल–टोलमा गणपति मण्डल रहेका छन् । यी सबैले ठूलो पण्डालमा गणपतिका महंगा–महंगा विशेष प्रतिमा स्थापित गरेर दस दिनसम्म गणेश उत्सव मनाउने गर्छन् ।
मुम्बईको सबैभन्दा धनी गणपति मण्डल ‘गौड सारस्वत ब्राह्मण मण्डल’ हो । सन् १९५१ मा स्थापना भएको यस मण्डलले हरेक वर्ष भव्यतापूर्वक दस दिने गणेश उत्सव मनाउने गर्छ । यस मण्डलले सन् २०१९ का लागि बनाइएको आफ्नो गणपति पण्डालका लागि २६७ करोड भारुको ‘बीमा कभर’ गराएको छ ।
यसपटक, यस मण्डलको पण्डालमा १४ फिट अग्लो गणपति प्रतिमा स्थापित गरिएको छ । पण्डालको सुरक्षार्थ ४५०० सेवादार नियुक्त गरिएका छन् । यसपटक पण्डालको आकार ७० हजार वर्गफिट भन्दा बढी रहेको छ । गणेश प्रतिमालाई सिंगार्न २० करोड मूल्यका सुन, चाँदी र हीराका गर गहना बनाइएका छन् । पण्डालको सुरक्षार्थ १०० सीसीटीभी क्यामरा जडान गरिएका छन् ।
मुम्बईका अन्य चर्चित गणपति मण्डल, जस्तै जीएसबी बडालाले ५५ करोड, लालबाग मण्डलले ५१ करोड राजा गणेश मण्डलले साढे सात करोड र अँधेरीको राजा मण्डलले ७ करोडको ‘बीमा कभर’ लिएका छन् ।
बीमा कम्पनीले गणपतिलाई चढाइने भेटी र गरगहनाको ‘बीमा कभर’ दिनुका साथै स्वयंसेवक, आगलागी, चोरीचकारी, आतंकी घटनाका साथै पण्डालले वितरित गरेको परसादी खाएर बिरामी भएको दाबी गरिने समेतको क्षतिपूर्ति दिने ‘बीमा कभर’ उपलब्ध गराउँछ ।
मुम्बई पछि महाराष्ट्रको अर्को प्रमुख शहर पुणेको गणेशोत्वस पनि बडो आनंद एवं उल्लासका साथ मनाइन्छ । पुणेको बुधबार पेठस्थित दगडू सेठ हलवाईको गणपति मण्डल सबैभन्दा चर्चित रहेको छ । भारतमा सबै वर्ग समुदायका मानिसले गणपति उत्सव धुमधामका साथ मनाउँछन्।
सन् २०१९ को गणेश चतुर्थी २ सेप्टेम्बर सोमबारका दिन ९ बजेर १ मिनेटमा प्रारम्भ हुनेछ । गणेश स्थापनाको शुभ मुहूर्त ११ बजेर ४ मिनेट देखि दिउँसो १ बजेर ३७ मिनेटसम्म रहेको छ ।