
सन्तानलाई अनुशासनमा राख्नका लागि प्रायः अभिभावकहरुले निश्चित कार्य गर्न वा नराम्रो बानी छोड्नका लागि सीमित समय तोक्ने गर्छन् ।
यसो गर्दा बालबालिकासँग अभिभावकको सम्बन्धमा असर पर्ने तर्कहरु आइरहन्छ । तर पछिल्लो एक अध्ययनले ‘टाइम आउट’ अर्थात समय सीमा तोक्दा सम्बन्धमा असर नपर्ने देखाएको छ ।
विशेष गरी बालबालिकालाई नराम्रो बानी वा कार्य छुटाउनका लागि समय सीमा तोक्ने गरिन्छ र सो अवधिमा बानी वा कार्य नत्यागेमा ‘यस्तो’ गर्छु या यो दिन्न भनेर केही हदसम्मको डर पनि देखाउने गरिन्छ ।
यस किसिमको प्रयासको आलोचना हुँदै आएका बेला लामो समय लगाएर भएको एक अनुसन्धानमा भने बालबालिका–अभिभावक सम्बन्धमा यसको कुनै नकारात्मक प्रभाव नपर्ने देखिएको हो । ८ वर्ष लगाएर विभिन्न परिवारमा भएको अनुसन्धानमा ‘टाइम आउट’ रणनीतिले बालबालिकाको एन्जाइटी (दुष्चिन्ता) या रिसाहा बानी नबढाउने देखिएको अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् ।
‘टाइम आउट’ लाई अनुशान कामय गर्नका लागि प्रयोग गरिने अधिनायकवादी रणनीतिका रुपमा पनि परिभाषित गरिन्छ । यस्तो रणनीतिलाई सबै बालबालिकाले आत्मसाथ गर्छन् या मान्छन् भन्ने चाहिँ छैन ।
अमेरिकाको मिसिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले यो अध्ययनकाको क्रममा झण्डै १४ सय परिवारको प्यारेन्टिङ (अभिभावकीय व्यवहार) को अवलोकन गरेका हुन् । उनीहरुले ती परिवारले तीन, पाँच र १० वर्षका बच्चाको पालनपोषण र स्याहार गर्ने शैलीलाई नियालेका हुन् ।
अनुसन्धानकर्ताले आफ्ना अभिभावकप्रति बालबालिकाको सकारात्मकता र नकारात्मकताको मापन गरे । यस्तै बालबालिकाको मानसिक या मनोवैज्ञानिक स्वास्थ्य र सामाजिक गुणहरुको पनि अवलोकन गरे ।
तीन वर्षका सन्तानका एक तिहाई अभिभावकले बालबालिकालाई ‘टाइम आउट’ रणनीति अनुरुप एक कुनामा चुप लागेर बस्न भनेका थिए । यस्तो रणनीति नअपनाएका अभिभावकका सन्तानसँग तुलना गर्दा ‘टाइम आउट’ रणनीति अपनाएका बालबालिकाको एन्जाइटी र डिप्रेसन, आत्म नियन्त्रण या नियम तोड्ने बानीमा कुनै भिन्नता नपाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर शारीरिक दण्ड दिइएका बालबालिकामा भने आक्रोसको मात्रा बढ्ने देखिएको छ ।
यस्तै आफू डिप्रेस छु भनेका अभिभावकका सन्तानमा अरुको तुलनामा एन्जाइटी र डिप्रेसशनको लक्षण पाइने सम्भावना बढी पाइएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुमा रिसाहा बानी पनि केही हदसम्म बढी हुने देखिएको छ ।
मिसिगन सी.एस. मोट् चिल्ड्रेन्स हस्पिटलका पिडियाट्रिक साइकोलोजिस्ट डा. रचेल नाइटका अनुसार अधिकांश अभिभावकमा आफूले बच्चाप्रति गरेको व्यवहार सही छ वा छैन भन्नेबारे शंका हुने गरेको र त्यसका लागि इन्टरनेट, सामाजिक सञ्जाल वा साथी तथा स्वास्थ्यकर्मीसम्म पुग्ने गरेका छन् ।
आफूहरुको अनुसन्धानले प्यारेन्टिङ्ग सम्बन्धी केही धारणाहरुबारे अनुगमन गरी निष्कर्ष निकालेको उनले बताएका छन्।