नेपाली मूलका एक लेखकको दुस्साहस

‘अमेरिका हिन्दू राष्ट्र हुनुपर्छ!’

‘अमेरिका हिन्दू राष्ट्र हुनुपर्छ!’
+
-

उता पश्चिमा जगतमा पूर्वीय ज्ञान र दर्शनको दियो बाल्ने मध्येमा गनिन्छन्– जर्मन स्कलर फ्रिड्रिच म्याक्स मलर (डिसेम्बर १८२३–अक्टोवर १९००)।

वेदको उल्था र व्याख्या गर्दै मलरसहित केही लेखकले सन् १८७९मा ‘द सेक्रिड बुक्स अफ इस्ट’ सुरु गरे। त्यसपछि ब्रिटिस–भारतको बम्बै सेनामा एक खोजकर्ता रिचार्ड फ्रान्सिस बर्टनले सन् १८८३ मा कामसूत्रको अंग्रेजीअनुवाद गरे। सन् १९१० सम्ममा ‘द सेक्रिड बुक्स अफ इस्ट’पचास भागमा लेखियो।अक्सफोर्ड युनिभर्सिटीले प्रकाशित गर्‍यो।

मलरले आफ्ना गुरु जर्मन दार्शनिक फ्रिड्रिच जोसेफ चिलिङ्को निर्देशनमा उपनिषद्को उल्था पनि गरेका थिए ।

अर्को कृति ‘ए हिस्ट्री अफ एन्सन्ट संस्कृत लिटरेचर’ले भारतको निधि बनायो, मलरलाई। सन् १९७४ मा भारु १ रुपैयाँको हुलाक टिकट पनि छाप्यो, ‘मक्स म्युलर’ नाम राखेर।

यद्यपि गलत व्याख्या र अर्थका लागि मलरलाई दोषी मानिएको छ भने कतिपय भारतीय पण्डितहरुले वेदको शत्रु मानेर दुष्मन घोषणा गरेका छन्। ऋग्वेदको उल्था मलर आफैंले हैन, कसैलाई मूल्य तिरेर गराएको भन्ने मत पनि छ। स्कलरहरु नै जानुन्– यो विषय!

यता अमेरिकामा नेपाली मूलका एक लेखक भन्छन्– ‘अमेरिका हिन्दू राष्ट्र हो। हिन्दू राष्ट्र घोषणा हुनु पर्छ।’ सुन्दा ‘फेन्याटिक’ लाग्न सक्छ। तर चेतन मस्तिष्क पनि एक प्रकारको पागलपन हो। उनको अध्ययन र चेतनाले त्यही देख्यो। त्यही लेखे। देख्ने र लेख्ने उनको आँखीझ्यालहो– प्राचीन पूर्वीय शास्त्र उपनिषद्।

अमेरिका, जहाँ धार्मिक कट्टरपन्थी र श्वेत कट्टरपन्थीको पनि कमी छैन। झण्डै ५० प्रटेस्टेन्स, २३ रोमन क्याथलोक र दुई मर्मन गरी लगभग ७५ प्रतिशत क्रिश्चियन हतियारधारीहरु रहेको अमेरिकाजस्तो विशाल मुलुकमा एउटा निर्धो देश नेपालको आप्रवासीले हिन्दू राष्ट्र माग गर्नु भनेको ‘फेन्याटिक’ कुरा गर्नु मात्र हैन, सिधा धावा बोल्नु हो। त्योभन्दा पनि एकप्रकारको दुस्साहसी साहस नै हो, यो। किनभने दुस्साहसका लागि साहसभन्दा पनि ठूलो साहस चाहिन्छ।

यो दुस्साहस तिनैले गरे, जसले ’अमेरिका तत्वमसि’ लेखे। ती दुस्साहसी हुन्– रमेश शर्मा। नेपाली मूलका लेखक। १३ वर्षदेखि बोस्टन क्षेत्रमा बसेर उपनिषद्का रहस्य र ज्ञानको उपासना गरिरहेका छन्।

उनको अध्ययनको भाषाभन्दा लेखनको भाषा ठीक उल्टो छ। पढ्छन् वेद–उपनिषद् र संस्कृतका श्लोक तर लेख्छन् अंग्रेजीमा। लेखनका अर्थ र मर्म उपनीषदीय हुन्छन्। कविता उनका प्रिय साथी हुन्। कवितामै भन्छन्– ‘अमेरिका अराइज एण्ड अवेक।’ ३५८ पाना भरिएको एउटा सिङ्गो किताब लेख्छन्। अमेरिकाको आत्मामा पूवीयदर्शन र आध्यात्मको आदित्य पोतिरहेका छन्।

अमेरिका उज्यालो छ तर त्यो उज्यालो पछाडि अँध्यारो पनि छ। उज्यालो अमेरिकाभित्रको अँध्यारोलाई चिर्न पूर्वीय ज्ञानको चीरचमकले आलोकित बत्ती बाल्दै रमेश शर्मा उद्घोष गर्छन्– ‘अमेरिका तँ त्यो होस् !’ प्राचीन पूर्वको वैभवशाली संस्कृत साहित्य उपनिषद्का रहस्यहरु केलाउँदै लेख्छन्– ‘अमेरिका तत्वमसि।’ उनको त्यही अमेरिका तत्वमसि बोल्छ– ‘अमेरिका हिन्दू राष्ट्र हो। हिन्दू राष्ट्र घोषणा हुनुपर्छ।’

मेरा आँखाले हेर्दा एउटा दुस्साहसी लेखकका नाङ्गा आँखाले देखेको सपना हो– ‘अमेरिका तत्वमसि!’ अगाडि राखेर गर्वका साथ भन्छन्– ‘अमेरिका मात्र हैन, संसार हिन्दूराष्ट्र हुनुपर्छ। किनभने उपनिषद्का ती मान्यताहरुले मात्र यो संसारको को कल्याण गर्न सक्छ।’ सीमित छैन, असीमित छ शर्माको सोच।

मानवीय जीवनका लागि आवश्यक छ वटा मान्यतालाई उनले सच्चा हिन्दू राष्ट्रको मानक मानेका छन्– प्रजातन्त्र, वाक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्य, न्याय र समानता।यी मान्यताहरुको मातृगर्भ उनी उपनिषद्लाई मान्छन्। भन्छन्– ‘जुन राष्ट्रले यी छ कुरा आत्मसातगर्दै इमान्दारीपूर्वक पालन गर्छ, त्यो राष्ट्र हिन्दू राष्ट्र हो। उपनिषद्का यी मान्यतालाई अमेरिकाले आत्मा मानेको छ।अमेरिकाको संविधानले उपनिषद्को पालना गरेको छ। त्यसैले अमेरिका हिन्दू राष्ट्र हो।’

उपनिषद् आफैंमा संसारको सबैभन्दा साह्रो, गाह्रो र अप्ठ्यारो विषय हो। भाषाका कारणले मात्र हैन, त्यसमा भएको ज्ञानको गहिराइ, बुद्धिको विशालता र अर्थको ओजले उपनिषद्लाई मानिसको सामान्य समझभन्दा धेरै माथि राखेको छ। त्यसैले उपनिषदमा वौद्धिक पनि पहुँच न्यून छ।

सच्चा, सम्पूर्ण र विशिष्ट ज्ञानको माध्यमबाट परब्रम्हप्राप्तिको बाटो मानिन्छ उपनिषद्लाई जसले वेदका मौलिक रहस्यलाई उजागर गरेको छ। म संस्कृतको विद्यार्थी हैन, वेद–वेदान्त र पूर्वीय दर्शनको ज्ञाता त हुँदै हैन तर पनि भन्न सक्छु, सत्यको खोजी र बुद्धिको अनुशीलन हो– उपनिषद्। विद्धानका मतको मन्थन र मेरो सामान्यअध्ययनले निकालेको निजी निष्कर्ष हो, यो।

ब्रम्हाण्डको सीमाभन्दाबाहिर अर्को परम शक्ति छ भन्ने विश्वास उपनिषद्ले गरेको छ। त्यसलाई सर्वसमर्थ सत्ताअर्थात परब्रम्हका रुपमा स्वीकार गरेको छ। उपनिषद्का अध्येताहरुले सारांश निकालेका छन्– सम्पूर्ण व्रम्हाण्ड ब्रम्हमा टिकेको छ र परब्रम्हमा त्यो ब्रम्ह टिकेको छ। ब्रम्हलाई विश्वात्माको रुपमा लिइएको छ। विश्वात्मले यो व्रम्हाण्ड एउटा आत्मा हो भन्ने मानेको छ। विश्वात्मा धारक परब्रम्हलाई ठानेको छ।

यस्तो गहिरो विषयमा झन् गहिरो रुचि राख्ने लेखक रमेश शर्मा ‘सबै धर्मको स्रोत उपनिषद् हो’ भन्छन्। ‘उपनिषद्को दर्शन र ज्ञानभन्दा बाहिर कुनै धर्मले कुनै नयाँ अध्याय थप्न सकेका छैनन्।’

हुन पनि प्राचीन पश्चिमा लेखक–दार्शनिकहरु पनि प्राचीन पूर्वीय वेद–वेदान्तकै ज्ञानबाट आलोकित भएको प्रसंगहरु प्रसस्तै भेटिन्छन्। द वेदान्त सेन्टर, बोस्टनले प्रकाशित गरेको स्वामी परमानन्दको किताबअनुसार वेद–वेदान्तको श्रुति प्रथा र ज्ञानलाई दार्शनिक प्लेटोले पनि ग्रहण गरेका थिए भनिएको छ।

मानवीय जीवनका लागि आवश्यक छ वटा मान्यतालाई उनले सच्चा हिन्दू राष्ट्रको मानक मानेका छन्– प्रजातन्त्र, वाक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्य, न्याय र समानता। ‘उपनिषद्का यी मान्यतालाई अमेरिकाले आत्मा मानेको छ। अमेरिकाको संविधानले उपनिषद्को पालना गरेको छ। त्यसैले अमेरिका हिन्दू राष्ट्र हो।’

अमेरिकामा बसेर रमेश शर्मा अहम् ब्रम्हास्मी भन्छन्। कर्मकाण्ड, भजन–किर्तन, पुरेत–पण्डित, पण्डा–पुजारीलाई केहीलाई मान्दैनन्। शंकराचार्य र स्वामी विवेकानन्दहरुलाई हिन्दूत्वका संरक्षक ठान्छन् बाँकी भजने, किर्तने, कथित गुरु, स्वामी, सन्त–महन्तलाई हिन्दूत्वको विनाषक मान्छन्  जसले नितान्त व्यक्तिगत लोभ–लालच र स्वार्थपूर्तिका लागिहिन्दूत्वको अपव्याख्या गरिरहेका छन्, तिनलाई भञ्जक ठान्छन्।

यथार्थत: उपनिषद्ले पनिकर्मकाण्डलाई धर्मसँग जोड्न पूर्णत अस्वीकार गर्छ। भनिएको छ– कर्मकाण्डलाई धर्मसँग जोड्नु मर्यादा र योग्यताहीन तुच्छ कर्म हो। यी कुरासँग शर्मा पनि सहमत छन्। ‘हिन्दू धर्म कर्मकाण्ड हैन, दर्शन हो। विज्ञान हो। जहाँ विश्वात्माको सन्देश छ त्यहा एउटा विशाल ज्ञानदर्शन छ, हिन्दूत्वको यो पक्ष संकटमा छ।’ उनी चिन्ता व्यक्त गर्छन्।

रमेश शर्मा र उनकी पत्नी।

कलिलो उमेरमै कृष्ण, क्राइस्ट, बुद्ध, विवेकानन्दलाई पढेका शर्मा अहिले विज्ञानलाई वेदान्त र अद्वैत दर्शनको देन मान्छन्। उनको विचारमा शंकराचार्यको अद्वैत दर्शन नै क्वान्टम फिजिक्स हो– ‘विज्ञान र अध्यात्मको खोजी एउटै हो, दुबैले अनेकत्वमा एकत्व खोज्छ। विज्ञान नौलो हैन, ब्रम्हवाद नै हो।’

ईश्वरको अर्थ र परिभाषा अनेक छन्– बुझाइ जस्तै! मूर्तिलाई ईश्वर मान्ने र अलौकिक शक्तिलाई ईश्वर मान्ने बीचको चेतनामा कति ठूलो फरक छ? आफूले बुझेको ईश्वरको अस्तित्वलाई ब्रम्हर्षि चार्वाकले अस्विकार गरे। यद्यपि उनी सनातन संस्कारको मर्यादाभित्र बसे। ऋषि परम्परामै जीवन बिताए। त्यही सनातन सँस्कार नै आज हिन्दू धर्मका नाउँमा रुपान्तरित भयो। त्यसैले ईश्वरको अस्तित्व अस्विाकार गरे पनि चार्वाक अहिन्दू मानिँदैनन्। तर कतिले मूर्तिपूजामा अविश्वास गर्नेलाई अहिन्दू मान्छन्। जसलाई मूर्खतामात्र भन्न सकिन्छ।

ईश्वर बारे मेरा जिज्ञासा भाव उनले आँखामै पढे। उनी त्यो अलौकिक शक्तिलाई ईश्वर मान्छन्, जुन ब्रम्हचिन्तनमा भेटिन्छ। उनले त्यो ईश्वर इशोपनिषद्को पहिलो श्लोकमा भेटे। श्लोकको एकाङ्शको उल्लेख गरे– ‘ॐ ईशावास्यमिदं सर्व यत्किञ्चजगत्यां जगत।’ संसार छ, गतिशील छ, यो संसारमा यथार्थ जे छ, त्यो यथार्थ ईश्वर हो। त्यो गतिशीलता ईश्वर हो।

अध्यात्म र भौतिकशास्त्रको फ्युजन गर्दै भारतीय मूलका वैज्ञानिक मणिलाल भोमिकले सन् २००५मा एउटा किताब लेखे। नाम हो– कोड नेम गड। त्यसैमा उसले भनेका छन् – क्वान्टम फिजिक्स उपनिषद्को नजिक छ। भोमिककाजस्तै पवन के वर्माका कुरालाई पनि रमेश शर्मा स्वीकार गर्दै भन्छन्–हो, स्टिफन हकिङ आदि शङ्खाराचार्यका ‘डिसाइपल’ हुनुपर्छ।

स्टिफन हकिङका किताबमा उनी उपनिषद्को प्रतिविम्ब पाउँछन्। दुःख मान्दै जोड्छन्– यति गहिरो ज्ञान पूर्वमै उपेक्षित छ। रमेश शर्मासँग उपनीषदीय दर्शन र ज्ञानका कुरा गर्दा बेग्लै ‘मज्जा’ आउँछ।

गोरखापत्रको जागिरे पत्रकार रमेश शर्माले एउटा अर्को दुस्साहस नेपालमै गरेका थिए। २०४७ साल कात्तिक ५ गते सरकारी समाचारपत्र गोरखापत्रको पहिलो मुखपृष्ठमा एउटा समाचार छापियो, जुन समाचारले देशको राजनीतिमा चर्चामात्र चलाएन नारायणहिटी दरबार र सिंहदरबार पनि कम्पन ल्यायो। जतिबेला देशमा सक्रिय राजतन्त्र थियो, त्यही बेला दरबार बिरुद्ध डरलाग्दो समाचार सरकारी मुखपत्रमा छापियो– बाइलाइन रमेश शर्मा।

समाचारको शिर्षक थियो– ‘दरबारद्वारा भिन्नै संविधान प्रस्तुत। मूलभूत कुराहरुमा व्यापक भिन्नता।’

त्यो बेला सरकारी मुखपत्रमा दरबार बिरुद्ध समाचार लेख्नु भनेको भोकाएको बाघलाई जिस्क्याउनुजस्तै थियो। कुनै दुस्साहसीबाहेक चानचुने साहसले गर्न सक्ने काम थियो, त्यो। जसले देशको राजनीतिको दिशालाई नै परिवर्तन गर्न पनि सक्थ्यो।

लिनु–दिनुबाट टाढा रहेर मनको आदेशमान्ने शर्माले कार्यालयको चियागफमै सुने, ‘दरबारले भिन्नै सविधान ल्याउँदैछ।’ अरुले सुने उडाए तर उनको मनमा त्यो चियागफले आँधी ल्यायो। थपक्क उठेर हिँडे। दिनभर अनेक नेताका ढोका ढक्ढक्याए। उच्चतहका नेतासम्म उनको पहुँच थियो। विश्वासिला पत्रकार शर्माले मनमोहन, भरतमोहनअधिकारी लगायतप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सम्मलाई भटेर दरबारबाट छुट्टै संविधानआउन लागेको हो/होइन ‘भेरिफाइ’ गरे। अन्ततःमनमोहनको विश्वासमा भरतमोहनबाट दरबारिया संविधानको प्रति पनि हात पारे– रातको नौ बजे।

राति १२ बजेसम्म बसेर समाचार तयार पारे। घर गए तर निद्रा लागेन। भोलि के हुने हो भन्ने डरको बाघले रातभर चिथोरिह्यो। समाचार छापिए उनी मर्न पनि तयार थिए। तर कथंकदाचित ‘लिक’भएर समाचार पनि छापिएन र दरबारको कोपमा परियो भने के हुने हो भन्ने चिन्ताले उनको निद्रा निल्यो।

अब मर्नु परे पनि खुसीसाथ मर्छु भन्दै त्यतिबेला उनी हाँसे, जब एकाबिहानै फोनमा एउटा आवाज सुने– ‘रमेशजी ल बधाई छ।’ त्यो आवाज थियो अमेरिकी समाचार संस्था एपीका सम्वाददाता विनाज गुरुवाचार्यको। यो कथा लामो छ तर यसको पहिलो जस, विशेष धन्यवाद उनी शरच्चद्र वस्तीलाई दिन्छन्। वस्ती त्यो रात न्युज डेस्कमा नभएको भए त्यो समाचार छापिँदैनथ्यो।

संविधान सुझावआयोगबाट तयार पारिएको संविधानआउन ढिलाइ भईरहेको थियो। यहीबेलामा आएको त्यो समाचार नेपाली पत्रकारिताको इतिहासमै एक ‘माइलस्टोन’मानियो। गोरखापत्रको इतिहासमा एक अद्भूत घटना भयो। विश्वनाथ उपाध्याय आयोगबाट तयार गरिएको संविधान घोषणा गर्न दरबार बाध्य भयो। पत्रकार भएर पत्रकारिताको धर्म निर्वाह गर्न पाएकामा शर्माआफैँसँग धन्य भए।

नेपालकै सन्दर्भमा गणतन्त्रको कुरा गर्दा उनले मेरो हातमा एउटा पम्लेट थमाए। २०६० साल माघ १८ मा जयतु संस्कृतम् महासभाका नाउँले छापिएको पम्लेटमा लेखिएको छ– ‘नेपाली राजसंस्थाले आफ्नो औचित्य र सान्दर्भिकता गुमाइसकेको ठान्छौ।’ सारमा गणतन्त्रको माग गरिएको छ। उनी थप्छन्– ‘संस्थागत रुपमा गणतन्त्रको माग सबैभन्दा पहिला जयतु संस्कृतम महासभाले गरेको हो।’ त्यो संस्थाको कार्यकारी पदमा उनी पनि थिए।

अमेरिकामा पनि उनले जयतु संस्कृतम गठन गरेका छन्। विधिवत् दर्ता पनि गरेका छन्।

तर जुन प्रक्रियाबाट राजतन्त्र समाप्त गरियो, त्यसलाई ‘षडयन्त्र’ ठान्छन् रमेश शर्मा। जनताबाट अनुमोदित नगराई रातारात राजतन्त्र समाप्त भएको घोषणा गर्नु गलतमात्र हैन, दलहरु स्वयं विदेशी षडयन्त्रको शिकार भएको कुरालाई उनी स्वीकार गर्छन्। तर त्यति नै राजतन्त्र आफ्नो मर्यादामा बस्न नसकेको पनि स्वीकार गर्छन्।

उनका लामा परिभाषा सहितका कुरा सुनिरहँदा मैले हिन्दूधर्म र राजसंस्थाको पारम्पारिक र पारस्परिक सम्बन्ध खोजेँ। उनले मसँग हिन्दू धर्मको मूल मर्म खोज्दै थपे– ‘हिन्दू धर्मले मुक्तिलाई साध्य मानेको छ। मुक्तिको अर्थ मानिस बाँचुञ्जेल स्वतन्त्र हुनुपर्छ। धर्मको पालना गर्न पनि मानिस स्वतन्त्र हुनुपर्छ। हिन्दूराष्ट्र हुँदैमा राजा रहनु पर्छ भन्ने छैन। हुँदा पनि फरक पर्दैन तर मर्यादामा बस्नु पर्छ– रामराज्यजस्तै।’

त्यसो त आफ्ना पिताको नाउँ नै काफी थियो– पूर्णप्रसाद ब्राम्हण! संस्कृतका ज्ञाता ब्राम्हण औंलामा गनिने विद्धान् मानिन्थे तिनताक्। प्रसङ्ग कोट्याएँ– पिताको कुरा गर्दा उनको अनुहारमा खुसी छाएन तर गर्वको छाया देखियो।

सन्तानले गर्व सक्ने पिता–माता पाउनु र पिता–माताले त्यस्तै सन्तान पाउनुभन्दा अर्को ठूलो गर्व गर्ने कुरा के नै हुन्छ र जीवनमा? भित्रभित्रै उनको छाती ठूलो भएजस्तो लाग्यो। हुन पनि अरु कुनै कुराले मानिसको छाती त्योभन्दा ठूलो बनाउन सक्दैन– स्वाभिमानभन्दा!

पञ्चायतकालमा प्रधानमन्त्री हुनुभन्दा दरबारमा पहुँच हुनु ठूलो मानिन्थ्यो। यही प्रसंगमा उनले जोडे– ‘बुबाले दरबारबाट कहिल्यै केही लिनु भएन। उहाँ दरबारबाट टाटा कहिल्यै हुनभएन तर धेरै निकट पनि कहिल्यै हुनु भएन।’ पछिल्लो समयमा पूर्णप्रसाद ब्राम्हण पनि दरबारको अविवेकी शासनशैलीसँग रुष्ट भएको झल्किन्छ– उपन्यास राजा पुरञ्जनमा।

हामी नेपाली अमेरिका आउने विभिन्न कारण छन्। तीमध्ये मैले देखेका दुई मुख्य हुन्– अभाव र अवसर। हुनेखाने परिवारका शर्मा नेपालमा रहदाँ गनिए–मानिएका पत्रकार हुन्। अभाव अवश्यै थिएन। के थियो त, अवसर? नेपाली र अंग्रेजीमा त्यतिकै कलम चलाउने पत्रकार शर्मालाई नेपालमा पनि अवसरको कमी थिएन।

सोध्न मन लाग्यो– सोधें। उत्तर अनौठो दिए। आफ्ना पिताको धोको पुरा गर्न अमेरिका आएको कुरा उनले सायद आजसम्म कसैलाई भनेका छैनन्। मेरो उत्सुक आँखा उनकाआँखामा ठोक्किए। ‘यो उपनिषद्को ज्ञान जर्मन वा अमेरिका जस्तो देशमा बसेर अंग्रेजीमा लेख्न पाएहुन्थ्यो भन्ने बुबाको सपना थियो, त्यही पूरा गर्न मैले अमेरिका रोजेँ’, मुस्कुराउँदै उनले आफ्नो रोजाइ सुनाए।

जीवनलाई सरल र कठीन बनाउने दुई सामान्य कुराहरु छन्– भ्रम र सत्य। भ्रममा बाँच्नुजतिआनन्द र सुख सत्यको खोजीमा छैन। कठीन यात्रा हो– सत्यको खोजी। रमेश शर्मा पनि एकपटक यस्तै एउटा भ्रमसुखमा केही समय भौँतारिए।

काला अक्षर कोरिएका शास्त्रभन्दा गेरुवस्त्रले लेपिएको मान्छे बलियो देख्ने असंख्य आँखाजस्तै उनकाआँखा पनि। १५–१६को उमेरमै उनले गेरुवस्त्र धारण गरे। उनलाई लाग्यो, गेरुवस्त्रमै छ ईश्वर। ज्ञान–विद्वान, धर्म–कर्म, सन्त–महन्तको परिचायक गेरुवस्त्र नै हो। गेरुमै कलेज जान थाले। थोरै अङ्कले एसएलसी बोर्ड टेक्न नपाएका शर्मा अमृत साइन्स कलेज पढ्थे।

तीन–चार महिनापछि कलेज छोडेर गीता, गान्धी, शंकचाचार्य, विवेकानन्द र धम्मपद पढ्न थाले।अकस्मात गेरुवस्त्रको भ्रम टुट्यो। ज्ञान गेरुधारणमा छैन, कालाअक्षरले भरिएका निरीह पानामै छ भन्ने कुरा बुझ्न किशोरवयका रमेशलाई धेरै समय लागेन। पूर्वीय दर्शनको अध्ययनमा झन् चाख बड्यो– अध्ययन उद्देश्यपूर्ण हुन थाल्यो!

त्यसैले ६१ वर्षीय रमेश शर्मालाई म युवा ठान्छु– उमेर हैन युवा, उदेश्य हो।

यहाँ अमेरिकामा पनि अर्थबिनाका टुकुचे जमघट, उद्देश्यहीन झुण्ड र नाममात्रका नेपाली सङ्घ–संस्थाभन्दा टाढा छन्। न तिनले उनलाई चिन्न आवश्यक ठान्छन्, न सायद उनी नै!

श्रीमती निर्मला थापा र दुई छोरासँगै बसेका छन्– साधनमा विश्वास गर्छन्।

जिउनु र बाँच्नुमा फरक छ भने मान्छे जिउनेमात्र हो, बाँच्ने क्वालिटी (गुण) हो। गुणको जन्म साधनाबाट हुन्छ। साधनाको जन्म भोकबाट हुन्छ। अझै भोक छ लेखक रमेश शर्मालाई– उपनीषदीय साधनको भोक। यी दुस्साहासी साधकलाई दाइ भन्छु– रमेश दाइ।

बोस्टनमा बसेर ‘अहम् ब्रम्हास्मि’ भनिरहेका छन्। अमेरिका हिन्दूराष्ट्र हुनु पर्छ भनेर लेखिरहेका छन्– दुस्साहासी रमेश दाइ!

Twitter: @Shivaprakash_NP

तस्बिरहरु: सन्तोष रिमाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?