
दाङ–दसैँको रमझम छ । घुमफिरका लागि योजना बनाउँदै ट्राभलमा निस्कनेहरु छन् । तर, जिल्ला भित्रका पर्यटकहरुको नयाँ गन्तव्य बनेको छ ‘ड्रिम पार्क बेलभार’ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ बेलभारमा झण्डै २ करोड व्यक्तिगत लगानीमा खोलिएको ड्रिम पार्कमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरुको घुइँचो लागेको छ ।
स्थानीय श्रीधरकुमार घिमिरेले ड्रिम पार्क खोलेका हुन् । पार्कको मुख्य आकर्षण यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४०‘वि’ प्लेन राखिएको छ ।
पुरानो प्लेन किनेर पार्कमा राखिएको छ । यसमा फोटो खिच्ने र हेर्नेको भिड लाग्छ । पुतलीको पंखा जोडेर तस्बिर लिने, भिडियो बनाउने, लभ गार्डेनमा पनि युवायुवतीको आकर्षण देखिन्छ ‘एजुटेन्मेन्ट’ उदेश्य राखिएको छ ।‘यहाँ आउने पर्यटकले केही न केही शिक्षा लिएर फर्किने आशा छ’घिमिरेले भने,‘जिल्लाका पर्यटकलाइ घुम्ने ठाउँ बनेको छ ।’
गत पुस ४ गते प्लेन झारिएको थियो । बिग्रेको प्लेन झरेपछि जिल्लामा एक प्रकारको चर्चा चुलियो । अहिले पार्क अवलोकनको लागि खोलिएको छ । आउँदै गरेको पर्यटन वर्षमा पार्कको उद्घाटन गर्ने योजना रहे पनि अहिले असोज १ गते बाट अवलोकनको लागि खुलाइएको छ ।