
सिमकोट – भन्दा पनि पत्याउनै कठिन तर कुरा यथार्थ हो, हुम्लाका पर्यटकीय होटल उधारोमा सञ्चालन हुँदै आएका छन्।
मानसरोवर कैलाशको सिजनमा आउने पर्यटकहरुको हुम्ला बसाईको खर्च सबै टेकिङ्ग एजेन्सीहरुले हुम्लाका पर्यटकीय होटलहरुलाई एक वर्षसम्म पैसा नदिँदा यी होटलहरु उधारोमा सञ्चालन हुन बाध्य भएका हुन् ।
गत वर्षको उधारो सबै चुक्ता गरिएको भए पनि यस वर्षको मानसरोवर कैलाश जाने पर्यटकहरुको खर्च आधा भन्दा बढी टेकिङ्ग एजेन्सीहरुले उधारो मै राखेको होटेल मान सरोवरका सञ्चालक चिनबहादुर रावतले बताए । सबै उधारोमा जान्छ सिजन सकिए पछि उधारो उठाउन काठमाडौँसम्म जाँदा एक लाख भन्दा बढी खर्च गर्नु पर्ने होटेल व्यवसायीको भनाई छ ।
यसपाली होटेल मानसरोवरले एक हजार दुई सयजना पर्यटकहरुलाई बास दिएको थियो । त्यस बापत होटेलले ३० लाख आर्जन गरेको भए पनि आधा भन्दा बढी उधारै रहेको सञ्चालक रावतले बताए । त्यो उधारो उठाउन काठमाडौँसम्म जानु पर्ने र त्यसका लागि उल्टै खर्च गर्नुपर्ने होटल व्यवसायीको बाध्यता रहेको छ ।
मानसरोवर कैलाशको सिजनमा सबै भन्दा बढी भारतीय पर्यटकहरुलाई बास दिनेमा पर्ने हुम्ला रिसोर्ट एण्ड स्पाले पनि गत वर्षको उधारो उठाएको छ भने यसपालीको सबै उधारो रहेको सो होटलका म्यानेजर पेमा लामाले बताए । के गर्नु फाइदा सबै टेकिङ्ग एजेन्सी, एयरलाइन्सहरुले खाने र हुम्लाका होटेल व्यवसायीहरुले उधारोमा चलाउनु परेपछि ऋणको बोझ थपिने अवस्था रहेको लामाले उल्लेख गरे ।
सबैतिर सन् २०२० लाई पर्यटक वर्षका रुपमा मनाउने तयारी भैरहेका बेला पर्यटन वर्षको सुरुवात मै हुम्लाका पर्यटकीय होटेलहरु उधारोमा होटेल चलाउन बाध्य छन् । सिजनमा मात्र सञ्चालनमा आउने हुम्लाका पर्यटकीय होटेलहरु त्यो पनि उधारोमा चलाउँदा अवस्था सहजै अनुमान गर्न सकिने अवस्था छ ।
होटेल मान सरोवर र स्पा मात्र होइन सिमकोटमा पर्यटकीय होटलहरुमा पोतला प्यालेस, सिमकोट इन, गेट वे, तिब्बतियन, रलिङ, हिमालयन, कैलाश, विजय, सनभ्याली लगायतका दुई दर्जन होटेलहरु हिल्सा र सिमकोटमा रहेका छन् । यी सबै होटलहरु उधारोमा सञ्चालन गर्न बाध्य रहेको होटेल संघ हुम्लाका अध्यक्ष मिमबहादुर तामाङले बताए । एकजना पर्यटकहरुलाई एक रात बिताएको दुई हजार पाँच सयसम्म चार्ज लाग्ने गरेको छ ।
यस पालीको मानसरोवर कैलाशको सिजनमा हुम्लाबाट मानसरोवर कैलाशको यात्रा गर्ने सात हजार आठ सय भारतीय पर्यटकहरुबाट हुम्लाका पर्यटकीय होटलहरुले एक करोड ९५ लाख लाख रुपैयाँ कमाएको देखिन्छ तर त्यसका २५ प्रतिशतसम्म मात्र टेकिङ्ग ऐजेन्सीबाट असुल भएको देखिन्छ भने अरु सबै बाँकी उधारो रहेको होटल व्यवसायीले बताउँदै आएका छन् ।
मानसरोवर कैलाशको सिजन लागि सञ्चालनमा आएका दुई दर्जन जति टेकिङ्ग एजेन्सीहरु रहेको र ती अधिकांसले उधारोमै काम गरि रहेको अवस्था छ ।