काठमाडौँ– चिया अधिकांशलाई मन पर्ने चिज हो। झन् जाडो मौसममा चिया खान धेरैले रुचाउँछन्। हामीले दैनिक रुपमा प्राय मिल्क टी र ब्लाक टी खाने गरेका हुन्छौँ । स्वास्थ्यलाई मध्यनजर गर्ने हो भने चियाको अत्यधिक सेवनले फाइदा गर्दैन। तर खाँदा पनि मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया आजभोलि काठमाडौँमा पाइन थालेको छ।
सुनिता दाहालद्वारा सञ्चालित काठमाडौँको पानीपोखरीस्थित पारिवारिक वातावरण सहितको टुकी घर फ्रुट टी ग्यालरी एण्ड रेष्टुरेण्टमा फलफूलको चिया पाइन्छ। शारीरिक रुपमा अस्वस्थ रहेका चिया पारखीहरुलाई पनि फलफूलको चियाले कुनै हानी नपुर्याउने सञ्चालक दाहाल बताउँछिन्। फलफूलमा पाइने भिटामिनहरु चियामै पाइने फलफूल चियाको विशेषता हो।
टुकी घरकी सञ्चालक दाहाल यसअघि चीनमा फलफूल चियाको व्यवसाय गरेर नेपाल फर्केकी हुन्। चीनमा फलफूल चियाको २५ वर्षसम्मको अनुभव सँगालेर आफूले काठमाडौँमा पनि यसको विस्तार गरेको उनले बताइन्।
उनले भनिन्, ‘विदेशमा जानेको सीप अनि त्यहाँ गरेको मेहनतले अब आफ्नै देशमा केही नयाँ गरौँ भन्ने भावना जाग्यो र नेपाललाई नै सेवा विस्तारका लागि पहिलो प्राथमिकता दिएँ, कुनै पनि केमिकल नमिसाई घरेलु उत्पादनबाट बनेको अर्गानिक फलफूलको चिया बच्चादेखि बुढाबुढी अनि विरामी सबैले खान मिल्छ।’
मौसम अनुसारका जुनसुकै फलफूलको चिया पाइने टुकी घर फ्रुट टी ग्यालरी एण्ड रेष्टुरेण्ट चियामा मात्रै सीमित छैन।
‘फलफूलको चिया बाहेक यहाँ इन्डियन खानेकुरालाई बढी प्राथमिकता दिएको छौँ । ईरानी केवाव, चिकेन अचारी, चिकेन नुडली, भेज हराभरा, स्पेशल केशर विर्यानी, दाल मगलाई लगायत खानेकुरा टुकी घरका विशेषता हुन्’, सुनिताले भनिन् ।
उनले नेपालमा अन्य खालका चिया प्रशस्त पाइए पनि फलफूलको चियाबारे भने अझैपनि कतिपय मानिसहरु अनविज्ञ भएको बताइन् ।
‘कतिपय नेपाली ग्राहकले त यहाँ आएर मात्रै फलफूलको चियाबारे थाहा पाउनु भएको छ, यस्ता ग्राहकहरु फलफूलको चियाकै लागि भए पनि दोहोर्याएर आउने गर्नुहुन्छ’, सुनिताले भनिन्, ‘सुरुमा विदेशी मात्रै आउने अहिले नेपाली ग्राहकहरु पनि बाक्लिएका छन्।’
तस्बिर तथा भिडियोः मन्दिरा राउत/देश सञ्चार
भिडियो हेर्नुहोस्: