
दाङ– थारु समुदायले माघलाई नयाँ वर्षको रुपमा मनाउँछन् । यसपालिको माघ पनि उनीहरुले धुमधामका साथ मनाउन थालेका छन् । समय अनुसार पर्व मनाउने शैली पनि बदलिँदै जान थालेको छ ।
पहिले जस्तो गाउँमा उल्लास छैन् । तर, माघलाई रमाइलो बनाउने तयारी चल्दै छ । सुंगुर मार्ने, पूजा गर्ने, नुहाउने, आर्शिवाद लिने, चेलीबेटीलाई उपहार दिने चलन कायमै छ । माघको पूर्वसन्ध्यामा थारु गाउँ पुग्दा उमेरले ९० टेकेका दम्पत्तिको जीवनकथाले तान्यो ।
तीन कट्ठा जग्गा छ । यही जग्गा तीन भाग लगाउँदा छोराहरुलाई एक–एक कट्ठा परेको छ । एक कट्ठा जग्गामा घर बनाउनु कि खेती गर्नु ? तर, सुन्दरराम र उनकी श्रीमती देउनागीलाई छोरा÷बुहारीले हेरचाहा गर्छन् । मालिकको घरमा कमैया बस्दा बिगौं जग्गामा खेती गरेर मालिकलाई धनी बनाएका उनै सुन्दरराम र उनको परिवार अहिले तीन कट्ठा जग्गामा मुस्किलले अटेको छ ।
उमेरले ९० वर्ष टेकेका सुन्दरराम नल्काबाट पानी तान्दै थिए । ९० वर्षकै श्रीमती देउनागी नाति–नातिनाको कपडा पखाल्दै थिइन् । उमेर हुँदा सम्म मालिकको घरमा कमैया बसेका यी दम्पत्ति अहिले पनि घरायसी काममा सक्रिय नै छन् ।
‘जब जिन्दगी सुरु भयो म मालिककै घरमा थिएँ । घाँस काट्ने, भैँसी चराउने, मल फाल्ने, खेती लगाउने यिनै काम हुन्थ्यो’सुन्दररामले भने–‘मेरा छोराहरुले समेत पढ्न पाएनन् । तर, अहिले नातिनातिना स्कुल जान्छन् ।’
गाउँकै थारु जमिनदारको घरमा कमैया बसेका सुन्दरामले मालिकको सेवामा आफ्नो जवानी बिताए । भरिया बनेर काँधमा कोइलावासबाट धेरै पटक नून, तेल बोके ।
माघ मनाउन वर्षमा एक दिन बिदा मिल्थ्यो । त्यही पनि कामको बिचमा । माघ महिना सम्म त धान नै दाउनुपर्ने हुन्थ्यो । मालिकले के छुट्टी दिन्थे । तर, माघ मनाउन एक दिन दिएको छुट्टीमा के के गर्नु ?
लमही नगरपालिका वडा नं. ६ लंगडी निवासी सुन्दरराम चौधरी त्यो एक दिनको छुट्टीमा साथीकोमा पुग्थे । ‘माघ मनाउन एक दिन बिदा मिल्थ्यो । एक दिनमा साथीकोमा जाने, जाँड दारु खाने, नाच्ने, गाउँने गरिन्थ्यो’कमैया बस्दाको दिन सम्झंदै चौधरीले भने–‘आफ्नो परिवारसँग भेट्न पनि मालिककै आदेश चाहिन्थ्यो ।’
कमैया सुन्दरराम र उनकी श्रीमती देउनागीसँगै बसेका हुन । ‘थारु(पुरुष)ले हलो जोत्थ्यौँ, जन्नी(महिला)ले लुर फिज्ने काम गर्थे । हामी दुवै जना मालिकको घरमा कमैया बस्यौँ’चौधरीले भने–‘काम गर्दा ढिलो गरे निकै गाली खानुपथ्र्यो । चित्त नबुझे हात हाल्थे ।’
अरु दिन बधुवा जस्तै जीवन थियो । तर, जती कष्टकर कमैया जीवन भएपनि माघको एक गते स्वतन्त्र जस्तै हुन्थ्यो ।
कमैया मुक्तिपछि सुन्दरराम चौधरी र उनको परिवार स्वतन्त्र भयो । तर, मालिकको घरमा कमैया बसेका उनीहरुले मुक्तिपछि पनि उनै मालिकको जग्गा अधिया लगाउन थाले ।
कमैया बस्दा वर्षको चार मन धान, चार पसेरी नुन, त्यती मात्रामा दाल पाउँथे । अधिया लगाउदा उब्जनीको आधा अन्न पाउन थाले । त्यसपछि केही हद सम्म परिवार सप्रियो । अहिले अधिया लगाउने चलन हट्दै गएको छ ।
सुन्दररामका तीन छोरा ठूला भएका छन् । मजदुरी गरेर घर परिवार धानेका छन् । ‘शरीरमा शक्ति हुँदा सम्म अरुको काम गरेर बिताइयो । न पढ्न पाइयो न कमाउन नै’उनले भने–‘छोराहरुलाई पनि पढाउन सकेनँ । मुस्किलले नाम लेख्छन् । बस त्यत्ती हो ।’
उहिले जस्तो अहिले मालिकको शोषण दमन त छैन् । तर, परिवारका सदस्यको वृद्धि विकास कमजोर स्थितिमा रहेको उनी बताउँछन् ।
दशु, घनश्याम र आशाराम सुन्दररामका छोरा हुन् । ज्याला मजदुरी गरेर परिवारको खर्च चलेको छ । यी तीनै छोरा विद्यालय जान पाएनन् । मुस्किलले नाम लेख्न सक्छन् । ‘पढ्ने बेलामा हलो जोतीयो’आशारामले भने–‘बाउ, बाजे कमैया बसे । हामी पनि बस्नु प¥यो ।’