
विशेष गरी चीनको हुबेइ प्रान्तको वुहान शहरमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्याले नयाँ उचाई लिएको छ । महामारीका कारण मृत्यु हुनेको संख्या अब एक हजार नाघेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।
वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको नोवेल कोरोनाको संक्रमणका कारण हालसम्म चीनमा एक हजार ११ जनाको ज्यान गएको छ । चीन बाहिर हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।
हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या सोमबार एकै दिन १०३ ले बढेको हो । यसअघि आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो ।
तर नयाँ संक्रमणको दर भने आइतबारको तुलनामा सोमबार २० प्रतिशतले कम भएको छ । हुबेइको स्वास्थ्य संगठनका अनुसार सोमबार थप दुई हजार ९७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । आइतबार यो संख्या २६ सय १८ थियो ।
नोवेल कोरोना भाइरसका कारण समस्याग्रस्त बनेको चीनमा विश्व स्वास्थ्य संगठनले अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको टोली पठाएको छ । सो टोली हाल बेइजिङ्ग पुगेको जनाइएको छ ।
चीनमा हालसम्म ४२ हजार २०० जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सन् २००२–०३ मा फैलिएको सार्स संक्रमणपछि चीनले बेहोरेको यो सबैभन्दा ठूलो स्वास्थ्य संकट हो ।
नोवेल कोरोनाको अवस्था सार्सको भन्दा भयावह बनेको छ । डब्लुएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
हुबेइको स्वास्थ्य संगठनका अनुसार सो प्रान्तमा मात्रै अहिलेसम्म ३१ हजार ७२८ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राज्यमा यसका कारण अहिलेसम्म ९७४ जनाको मृत्यु भएको छ ।
नोवेल कोरोनाको संक्रमण भएका मध्ये तीन प्रतिशतको ज्यान गएको छ । एक करोड १० लाख भन्दा बढी मासिनको बसोबास रहेको वुहानमा धेरैको ज्यान गएको हो ।
यसैबिच चीनका राष्ट्रपति सी जिनपिङले नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि दुर्लभ जस्तै बनेको सार्वजनिक उपस्थिति सोमबार तोडेका छन् ।
उनी बेइजिङ्गको एक अस्पतालमा गएर कोरोना संक्रमणको उपचार प्रक्रिया निरीक्षण गरेका छन् । राष्ट्रपति सीले नोवेल कोरोनाको संक्रमण रोक्नका लागि थप प्रभावकारी उपाय अपनाइने बताएका छन् ।