
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन्।
महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट भगवान शिवको विशेष पूजाआजा गरेकी हुन्।
नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन्।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरे।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे। राष्ट्रपति उपस्थित हुने भएपछि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।