
काठमाडौँ – वैदिक सनातन धर्ममा महत्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती मंगलबार मनाइँदैछ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यले पुर्याउएको योगदानका विषयमा चर्चा गरिन्छ ।
दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।
बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम्’ अर्थात भगवान शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिनुभएको भन्ने विश्वास छ ।
वेदान्त विषयका प्रा. डा. दीर्घराज घिमिरे कुमारिल भट्टले सुरु गर्नुभएको वैदिक सनातन धर्ममा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताए । १६ वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद गीता लगायत ग्रन्थको व्यापक विवेचन भाष्य गरेका थिए ।
भगवान शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँडेको पनि घिमिरेले बताए । यसै क्रममा उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।
उनले स्थापना गरेका चारमठमा श्रृङ्गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो ।