
जनकपुरधाम– जानकी नवमीको अवसरमा शुक्रबार जानकी मन्दिरमा केक काटिएको विषय विवादमा परेपछि मन्दिरले उक्त विषयमा स्पष्टिकरण दिएको छ।
जानकी जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा केक चढाइएपछि त्यसको चर्को विरोध भएको थियो।
केक काटेको विषयलाई लिएर चौतर्फी विरोध हुन थालेपछि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले केक जानकी मन्दिरले नभई श्रद्धालु भक्तजनले प्रसाद स्वरुप अर्पण गरेको स्पष्टिकरण दिएका छन्।
केकका साथै जानकी नवमीको अवसरमा मन्दिरको प्राङ्गणमा भएको बधैया गान र भण्डारालाई अन्यथा रुपमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरी जानकी मन्दिर र मिथिला संस्कृति उपर प्रहार नगर्न उत्तराधिकारी महन्थ दासले आग्रह गरेका छन्।
केक चढाएको विषयमा गलत टिकाटिप्पणी हुन थालेपछि केक चढाएका भक्तजनहरुले समेत सो विषयलाई लिएर रोष प्रकट गरेका छन्।
केक अर्पण गर्नेहरु मध्येका एक जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले आफ्नो विवाहको वर्षगाँठ रहेकोले मन्दिरमा प्रसाद स्वरुप ब्रेड र खुवाबाट बनाइएको केक भगवानलाई चढाएको स्वीकार गरेका छन्।
उनले भने, ‘मैले करिब ४ वर्षदेखि विवाहको वर्षगाँठ मनाउनका लागि केक चढाउने गरेको छु, तर यस वर्ष तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि यसको गलत अर्थ लागाइएकोमा एकदमै दुःख लागेको छ।’
आफूहरु मिथिला परम्परा र संस्कृतिकको विरोधमा नरहेको उनले बताए।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने गंगादेवी राउतले नातिनीको जन्मदिन जानकी नवमीकै दिन रहेकोले सो दिन जानकी मन्दिरमा प्रसाद स्वरुप केक चढाएको बताइन्।