खण्डग्रास सूर्यग्रहणः शास्त्रीय मान्यता र वैज्ञानिक दृष्टि के छ, कहाँबाट हेर्न पाइन्छ?

खण्डग्रास सूर्यग्रहणः शास्त्रीय मान्यता र वैज्ञानिक दृष्टि के छ, कहाँबाट हेर्न पाइन्छ?
+
-

काठमाडौँ – आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गर्नेछ। दिउँसो १२ बजेर ३८ मिनेट जाँदो मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने छ ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १० बजेर ५० मिनेटदेखि नै बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने गर्छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । आइतबारको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुने शास्त्रीय मान्यता छ ।

तर वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न मिल्छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सुरक्षित तरिबाट ग्रहण हेर्न हुने बताएका छन् ।

प्रदेश नं. १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले बताए । आइतबार सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।

आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट बलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।

काठमाडौँबाट दिउँसो १२ बजेर चार मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ ।

कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण?

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ ।

यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?