
साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् ।
हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको हो ।
हाल साउदी अरेबियामै रहेका केही सीमित विदेशहरुले भने हज यात्रा गर्न पाउने त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सामान्य अवस्थामा हरेक वर्ष झण्डै २० लाख मानिस हजमा सहभागी हुन्छन् ।
सामाजिक दूरी कामय गराएर मानिसहरुलाई संक्रमणबाट जोगाउने एक मात्र उपाय हज यात्रा रोक्नु रहेकाले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएका छन् ।
साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६१ हजार भन्दा बढी रहेको छ । त्यहाँ १३ सय भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो ।