कहिलेकाहिँ मलाई लाग्छ- म नेपालको बुद्धिजिवी भएको भए, नेपाली बुद्धिजिवी भएको भए मेरो जीवन कस्तो हुन्थ्यो? समग्रमा म कुन राजनीतिक विचारधाराको पक्षपोषण गर्न कटिबद्ध हुने थिएँ! यसमा पनि कुन दलको दानापानीले मेरो आजीविका धानिएर म अझ थप र व्यापक सर्वांगीण उन्नतिका लागि त्यस दल विशेषको कुन चाहिँ ‘ग्याङ अफ फोर’को विषलता संरक्षण र संवर्धन हेतु कुशल मालीको भूमिकामा स्वेदधारा बगाइ रहेको हुन्थेँ?
प्रश्न जटिल भए पनि यस प्रश्नले मलाई कहिल्यै सताउने स्तरसम्मको गुरुत्व राख्न सकेन। यसको एकमेव कारण यति नै हो, म जन्मजात औसत अथवा सामान्य बुद्धिधारी थिएँ, आजीवन रहेँ। आफू औसत वर्गको प्राणी भएकोमा कतिपय अवसरमा लघुताभाष भए पनि बुद्धिजीवी वर्गका हर्कत र क्रियाकलाप हेर्दा/सुन्दा र तिनले आफ्नो ‘ग्याङ’को रक्षण एवं तिनका मनगढन्ते कुरालाई आफ्ना विभिन्न तर्क-कुतर्कबाट पुष्टि गर्न वस्त्रविहीन भइगरेको विद्रूप हास्यास्पद गतिविधिका छनक संज्ञानमा आउँदा आफ्नो बुद्धिको परिमिततामा गर्वानुभूति हुन्छ।
‘परिमित बुद्धिको परिमित तर्क न हो- मेरो बुद्धि कथं कदाचित अपरिमित भएको भए म पनि नग्नताको चर्या नृत्य गरिरहेको हुन्थेँ!’
धेरै पर जानु पर्दैन। राज्य सत्तामा कुनै र कसै भाँति पुगेका/अडेका समूह विशेषको सामीप्य र चाटुकारिता प्रदर्शनले म पनि राज्य सत्ताको कुनै निकायमा पदासीन हुन सफल भएको भए म पनि गुञ्जुमान नै हुनु पर्ने थिएन र?
असली अयोध्या नेपालमै छ प्रमाणित गर्न मैले पनि हैंसेमा होस्टे मात्र होइन, मदान्ध र स्वेच्छाचारीको थप अनुकम्पा र कृपादृष्टि पाउन मालिकभक्ति र चारणका स्थापित मूल्य मान्यता खण्डित गर्दै नयाँ कीर्तिमान स्थापित गर्नु पर्ने हुन्थ्यो।
एकपटक नजर गर्नुस्- मेरो तर्क वेदानुकूलित हुन्थ्यो। विशाल वैदिक वाङ्मयका अनुसार पृथ्वी फगत एउटा खगोलीय पिण्ड मात्रै होइन। यो जीवित तर निद्रा अवस्थामा रहेकी स्त्री हो। समस्त सृष्टि यसै स्त्री शरीरभित्र सम्पादित र संचालित भइरहेको छ। भगवती (भग+वती) भएर पनि र सारा सृष्टि भगकै अथवा भगबाटै ब्युत्पत्ति भए पनि यस परम र मूल स्त्रीको भग अक्षुण्य, अविजित, अस्पर्शित, अलघ्य छ। शास्त्रका अनुसार यस परम स्त्रीको भगप्रदेश नै अयोध्या प्रदेश हो। अयोध्यामाथि कसैले अतिक्रमण, आक्रमण, विजय वा यसको मर्दन गर्न सक्दैन। अयोध्या सधै अपराजित रहन्छ।
अब रामको जन्म भएको अयोध्या भारत र नेपाल बाहेक त कहिँ हुन सक्दैन। भारत सधै अपराजित रहिआएको छैन। पटकपटक पराजित भयो, हज़ारौँ वर्ष गुलाम रह्यो, अनेकौँ आक्रांताहरुबाट शासित रह्यो। सनातन परम्परा र विश्वास अनुसार अयोध्या त अपराजित रहन्छ। वेद वाक्य र सनातन विश्वास झूठो त हुन सक्दैन। त्यसैले असली अयोध्या त्यो हो, अथवा त्यहाँ छ जुन भूमि कहिल्यै पराजित भएन, अनादिकालदेखि अपराजित रहिआयो।
यो भन्दा बढ़ी बकबास गर्ने अनुमति मेरा रामले मलाई दिँदैन। राम कृपाले म बुद्धिजीवी भइन, अन्यथा यस्तै कुतर्क गरेर गुञ्जुमानको रूपमा धर्मभञ्जक समूहको हितसिद्धि हेतु तपाईँहरु समक्ष आफ्नो पातकी अनुहार लिई देखा पर्ने गर्थेँ।
कुनै गुञ्जुमानले उपरोक्त वर्णित तर्क लिएर आफ्नो बुद्धिको श्लाघा प्रदर्शित गर्ने दुस्साहस नगर्नु होला। राम कृपाले यसको काट मसँग संरक्षित छ।
तीर्थ स्थानको सनातन हिन्दू धर्म लगायत अन्य सबै धर्ममा विशेष महत्व छ।
तीर्थ हो के?
सनातन तीर्थ ती स्थान हुन् जहाँ कुनै अवतार अथवा दिव्य चेतनाको अवतरण हुन्छ। मलाई हिन्दू धर्मबाहेक अन्य कुनै धर्मसँग लिनु दिनु केही छैन, तसर्थ तिनको बारे चर्चा गर्नु मेरो न कुनै रहर छ, न कुनै किसिमको बाध्यता वा परिबंध।
अयोध्या, मथुरा, हरिद्वार, काशी, काञ्चीपुरम्, उज्जैन र द्वारिका भारतका यी सातवटा नगरीलाई सनातन हिन्दू धर्मनगरी अथवा तीर्थको रूपमा श्रद्धा गरिन्छ। यी स्थानको सम्बन्ध हिन्दू धर्मका अवतार अवतरण अथवा दिव्य चेतना अवतरणसँग छ। सनातन हिन्दू धर्म परम्परा र मान्यतामा यिनको महत्व र पवित्रता अनन्तकालसम्म रहिरहने छ।
अर्का थरी तीर्थ स्थान ती हुन् जहाँ अनेकौँ ऋषि, मुनि, साधू, सन्यासी, तपस्वी, साधकले तप गरेर दिव्यतासँग साक्षात्कार गर्छन्।
नैमिशारण्य, बोधगया, प्रयाग, अमरकण्टक लगायत हिमालयका विभिन्न स्थान यसै कोटीभित्र आउँछन। यसै गरी अर्का थरी तीर्थस्थल ती हुन जुन ठाँउमा देव विग्रहको स्थापना गरेर नियमित रूपमा पूजा अर्चना गरिन्छ। पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, मुक्तिनाथ, भारतका बद्रीनाथ, केदारनाथ, ऋषिकेश, ओम्कारेश्वर लगायत विविध मठ मंदिर भएका अनेकन स्थान यस कोटिमा आउँछन्।
उपरोक्त सबै प्रकारका स्थलहरुको एनर्जी स्तर उच्च हुन्छ। यहाँ गरेको साधना द्रुत गतिले विकसित हुन्छ। साधनासँग कुनै किसिमको सम्बन्ध नरहेका प्राणीका लागि यो अनर्गल गफ मात्रै हो। तर जीवनमा अलि अलि साधना गरेका जुनसुकै व्यक्तिलाई थाहा हुन्छ- घरमा ध्यानमा बस्नुभन्दा पशुपतिक्षेत्र, बौद्धनाथजस्ता स्थलमा ध्यान बस्नु धेरै नै फलदायी हुन्छ। यो बेग्लै कुरा हो उच्छृंखल भीड़भाड़ बढ़नाले यी स्थान पनि क्षय हुँदै गएका छन्। यस किसिमका तीर्थ स्थलको गरिमा नै भक्ति, श्रद्धा, समर्पण भावले निर्मित एवं परिचालित भएको हुन्छ। जब यस्ता तीर्थस्थल भक्तिभन्दा पर्यटनको भावले, पर्यटकीय गतिविधिले आच्छादित हुँदै जान्छन्। तिनको सकारात्मक ऊर्जा खस्किँदै जान्छ। र शनैः शनैः यस्ता स्थान’ टूरिस्ट प्लेस’मा परिवर्तित हुँदै जान्छन्। यस्ता खाले अधिकांश तीर्थ स्थल ‘टूरिस्ट प्लेस’ नै बनी सकेको टिप्पणी गर्दा अतियुक्ति हुन्न।
राम त जुन प्रयोजन, जुन उद्देश्य, जुन स्वार्थले बनाइएका अयोध्यामा पनि उपस्थित हुन बाध्य छन्। तर तीर्थ स्थलमा रामको नाम लिने/जप्ने, वैराग्य भाव जाग्ने, आध्यात्मिक वृत्ति वृद्धि हुने, समय स्थम्भन भएको अनुभूति हुने! जुन सुगमता, जुन अनुकूलताको दिव्य वातावरण, दिव्य ऊर्जाको संचरण हुन्छ त्यो तथानामका अयोध्यामा हुनु सम्भव छैन।
तर तपस्याद्वारा दिव्यता अवतरण भएका, अथवा अवतार अवतरण भूमि एवं उनको लीला भूमि भएर तीर्थको दर्जा पाएका स्थलहरुको महत्व एवं सकारात्मक ऊर्जा कहिल्यै पनि क्षय हुन्न। त्यो दिव्यतालाई त्यहाँको कण कणले अवशोषित गरेको हुन्छ, पात पातले अवशोषित गरेको हुन्छ। हिन्दू अवधारणामा सात पुरीको महत्व, हिन्दू अवतारले आफ्ना चरण राखेका अनेकन स्थल र बुद्ध परम्परामा बोधगया, सारनाथ, कुशीनगरलगायत तथागतका चरण परेका तीर्थ स्थल एवं उनका पार्थिव अवशेष संरक्षित गरेर बनाइएका तीर्थको महत्व एवं ऊर्जा युगौँयुगसम्म कायम रहन्छ।
बुद्धसँग सम्बंधित स्थलहरुमा लुम्बिनीको उल्लेख गरिन। ३५ वर्षको अवस्थामा बोधगयाको पीपल रुख मुनि दिव्यतासँग साक्षात्कार गर्नु भन्दा पहिला उनी ६ वर्षसम्म तपस्वी थिए। २९ वर्षको अवस्थामा राजपाट छाड्नु अघिसम्म उनी शाक्यवंशी राजा शुद्धोधनका उत्तराधिकारी राजकुमार सिद्दार्थ थिए। शुद्धोधनको कुलमा जन्मिँदा बालक सिद्दार्थ ‘बुद्ध’ थिएनन्, राजकुमारका रूपमा जन्मिएका थिए, जसले पछि गएर साधना र तपश्चर्याद्वारा आफुमा दिव्यता अवतरण गराई बुद्धत्व हासिल गरे र बुद्ध कहलिए। लुम्बिनीको महत्व यति नै हो एउटा बुद्धत्व अर्जित गरेको महामानव यस भूमिमा जन्मेको थियो। तर त्यस भूमिले नै त्यस महामानवको सम्मान गर्न सकेन र बुद्धले बुद्धत्व अवतरण भए पश्चात् जन्मेको भूमिमा फर्केर आउँदा पनि तत्कालीन राज्य अथवा उनका पिता राजा शुद्धोधनले बौलहठ्ठीपन छाडेर बस्ने हुकुम तामेली गरे। बुद्धले आफ्नो उद्देश्य (धर्म प्रचार) का लागि आफ्नो राज्य छाड़ी त्यस बेलाका अन्य राज्यमा जीवन बिताउनुपर्यो। लुम्बिनी कहिल्यै तीर्थ स्थल थिएन, भएन। झण्डै ४५ वर्ष बाँचे बुद्ध, तर यसपछि कहिल्यै लुम्बिनी फर्केर आएनन्।
अयोध्या सनातन तीर्थ स्थल हो। आधुनिक युगमा विभिन्न प्रयोजन र उद्देश्य हेतु हज़ारौँ अयोध्या बनाउन सकिन्छ। बनाउनु गलत पनि होइन। घटघटवासी राम यसरी बनेका नयाँ अयोध्यामा हुन्नन् भन्ने पनि होइन, ‘जो काशी तन तजै कबीरा रामै कौन निहोरा’ अर्थात काशीमा मर्दा मात्रै स्वर्ग पाइन्छ भने हे राम! जीवन भरी तिम्रो नाम लिनुको अर्थ के रह्यो? भन्दै एउटा सन्त परमात्मालाइ चुनौती दिदै मर्न खातिर मगहर भन्ने अपरिचित स्थान रोज्छ।
राम त जुन प्रयोजन, जुन उद्देश्य, जुन स्वार्थले बनाइएका अयोध्यामा पनि उपस्थित हुन बाध्य छन्। तर तीर्थ स्थलमा रामको नाम लिने/जप्ने, वैराग्य भाव जाग्ने, आध्यात्मिक वृत्ति वृद्धि हुने, समय स्थम्भन भएको अनुभूति हुने! जुन सुगमता, जुन अनुकूलताको दिव्य वातावरण, दिव्य ऊर्जाको संचरण हुन्छ त्यो तथानामका अयोध्यामा हुनु सम्भव छैन।
सिक्किमको दक्षिणी सिक्किम भन्ने जिल्लाको नाम्ची भन्ने ठाँउबाट ५ किमी टाढा रहेको सोलोफोक नामक पहाड़ी टाकुरामा अर्बौँ रकम निवेश गरेर चार धामको सिर्जना गरिएको छ। अति स्वच्छ, अति मनमोहक अति सुरम्य वातावरण छ त्यहाँको। तर के गर्नु सबै भएर पनि, यहाँ आध्यात्मिक भावको लेशमात्र पनि छैन। तर आर्थिक उपार्जनका दृष्टिकोणले, पर्यटकीय दृष्टिकोणले राज्यको समृद्धिका दृष्टिकोणले राज्यका तत्कालीन मुख्यमन्त्री पवन चामलिङको चारधाम निर्माण सम्बन्धी योजनाको आलोचना गर्न सकिन्न।
नेपाल सरकारले सिक्किमकै भव्य चारधाम जस्तै नेपालमा अयोध्या बनाउने हो भने म दस/बीस हज़ारको आर्थिक सहयोग गर्नुका साथै जीवन र स्वास्थ्य रहेसम्म श्रमदान गर्न तत्पर छु। यस कार्यमा मेरो कुनै विरोध छैन। तर दिव्य चेतना अवतरण गरेको तीर्थ नगरी अयोध्याको दिव्यता अनुभव गर्न भने म सरयू तीरस्थित अयोध्या पुरी नै जान्छु।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































