
खगोल विज्ञानमा रुचि राख्ने अधिकांश मानिसलाई थाहै छ, चन्द्रमाको मामलामा प्रकृतिले पृथ्वीलाई नाइन्साफी गरेको छ। वामन ग्रह यमसँग (प्लुटो) त ५ वटा चन्द्रमा छन्। पृथ्वी वाहेक सौर्यमण्डलको कुनै ग्रहमा जीवन छैन।
जीवन बोक्ने पृथ्वीसँग जम्मा एउटा, मंगलग्रहसँग दुईवटा, अरुण ग्रहसँग (यूरेनस) सत्ताईस, वरुण ग्रहसँग (नेप्चुन) १३ वटा चन्द्रमा रहेका छन्।
गत वर्षसम्म ६९ वटा चन्द्रमा लिएर बृहस्पति ग्रह यस मामलामा सबैभन्दा धनी रहेको थियो।शनि ग्रह ६२ वटा चन्द्रमाका साथ सौर्यमण्डलको दोस्रो स्थानमा थियो।यी दुबै ग्रह बीच ‘जेफ बोजेस’ र ‘विल गेट्स’जस्तै को धनी भन्ने प्रतिस्पर्धा चलिरहेको छ मानव जातीले टेलिस्कोपको आविष्कार गरे यता। कहिल्यै गेट्स त कहिल्यै बोजेस बाजी मार्छन्।
हालै आएर शनिले बाजी उछिनेको छ।अमेरिकाको कार्नेगि इन्स्टीट्यूट अफ साइन्सका अन्तरिक्ष वैज्ञानिक स्कट एस शेफर्डको टीमले हवाइ द्धीपस्थित सुबारु टेलिस्कोपको मद्दतले शनिका थप नयाँ २० वटा चन्द्रमा पत्ता लगाएको छ । यस नयाँ खोजले शनिको चन्द्रमा संख्या ८२ हुन पुगेको छ।
पत्ता लागेका नयाँ २० वटा चन्द्रमा मध्ये ३ वटा चन्द्रमा शनि ग्रहको अक्षको दिशामा (प्रोग्रेड ) परिक्रमा गर्छन भने १७ वटा चन्द्रमा अक्षीय दिशाको विपरीत (रेट्रोगेड) परिक्रमा गर्छन्। पत्ता लागेका नयाँ चन्द्रमाले शनि ग्रहको एउटा परिक्रमा, २ वटा चन्द्रमाले दुई वर्षमा र बाँकीले तीन वर्षमा पूरा गर्छन्।
पृथ्वीको चन्द्रमाले पृथ्वीको एक परिक्रमा २७.३ दिनमा पूरा गर्छ। र, पृथ्वीको आकाशमा जम्मा एउटा चन्द्रमा छ । हाम्रा रात्रि, रात्रि भएर अध्यारा भएका होइनन्। वरन पृथ्वीको नियतिमा एउटा मात्रै चन्द्रमा भएकाले भएका हुन।
पृथ्वीसँग पनि शनिका माफिक उल्टो सुल्टो दुवै गतिले घुम्ने ७०-८० वटा चन्द्रमा भएको भए कति मजा हुन्थ्यो ! तर पर्खिनुस् है, विचरा कविहरुको बिजोग हुने थियो-प्रेयसीको अनुहारको तुलना कोसँग सुहाउदो हुन्छ होला? प्रेयसीले पनि नखरा गर्ने थिइन्-के मेरो अनुहार ‘फोबोस’ (मंगल ग्रहको चन्द्रमा )जस्तो छ ?
तिमीले उपमा नै दिनु थियो भने ‘टाइटन’ लेखे हुन्थ्यो , ‘रिया’ ,’टेथिस’ ,’डीओन’ ,’हिपेरायन’,’आयो’ ,’कैलिस्टो’ (विभिन्न ग्रहका चंद्र ) लेख्न सकेनौ ? तर तिमी यति बुझी राख ,मेरो तुलना ‘गैनिमीड’ बाहेक अन्य कुनै चन्द्रमासँग (बृहस्पति ग्रहसँग रहेको सौर्यमण्डलको सबैभन्दा ठूलो चन्द्रमा) हुन सक्दैन।
मानव उत्पत्तिदेखि आधुनिक विकाससम्म मानिस प्रकृतिसँगको संघर्षमा आफ्नो अस्तित्व कायम राख्दै आएको छ । म लेखीरहेको छु, तपाई पढ्दै हुनुहुन्छ, ‘हाम्रा पुर्खा प्रकृतिसँगको संघर्षमा विजयी नभएको भए कुनै अर्कै खाले प्रजातिले अध्ययन गरिरहेको हुन्थ्यो, ‘फ्यु मिलियन इएर बिफोर देयर वाज सम काइण्ड अफ एनिमल कल्ड होमो सेपियन्स !’
प्रकृतिसँगको संघर्षमा थप नयाँ अध्याय कोर्न मानव जाति अग्रसर भइरहेको छ, त्यो नयाँ अध्याय हो पृथ्वीका लागि थुप्रै चन्द्रमा निर्माण गर्नु ! यस संघर्षमा प्राप्त भएको विजयले रात्रि भन्ने शब्दलाइ शब्दकोशमा थन्काई दिनेछ।
दिन र रात्रिमा मूल अन्तर प्रकाशको मात्राको हो, कल्पना गर्नुस् तपाईं बसेको शहरमाथि ३०० किमि जतिको दूरीमा एक वर्ग किमि जतिको कुनै पिण्ड ‘स्थिर’ राखि दिने हो भने त्यस शहरको रात्रि सदाका लागि समाप्त हुनेछ। सुधि पाठकजनलाई थाहा नै छ चन्द्रमाले पनि यही काम गर्छ। चन्द्र धरातलसँग ठोक्किएर पृथ्वीतिर फर्केका सूर्यको किरणलाई नै हामीले चन्द्र किरण भन्छौं।
सूर्य बाहेक सौर्यमण्डलका कुनै पनि पिण्डमा प्रकाशको प्राकृतिक व्यवस्था छैन। हो, मानव जातिले आफ्नो पुरुषार्थले पृथ्वीमा प्रकाशको वैकल्पिक व्यवस्था गरेको छ। साथै मानवले पृथ्वीमा सूर्यभन्दा बढ़ी ताप उत्पन्न गर्ने सफलता पनि पाइसकेका छन।
सौर्यमण्डलका आदि यावत पिण्डको व्यवस्थापन र तिनको अक्षीय एवम् आफ्नो मातृताराको परिभ्रमण व्यवस्थापनले कुनै पनि खगोलीय पिण्डमा सुर्यको प्रकाश एकनास पर्न पाउँदैन। पृथ्वी कै कुरा गरौं, यसको जुनभागमा प्रकाश पर्छ त्यहाँ दिन र जहाँ प्रकाश पर्दैन त्यहाँ रात्रि हुन्छ।
चन्द्रमाको दूरीको कारणले (तीन लाख चौरासी हजार चार सय किमि ) त्यहाँबाट परावर्तित भएर पृथ्वीसम्म आउने प्रकाश मधुरो हुन्छ । चन्द्रमाको आकारको कुनै पिण्ड अथवा चन्द्रमा स्वयम्नै डेढ–दुई लाख किमि मात्रै टाढा भएको भए हाम्रा रात्रि दिन सरह नै सुमधुर उज्याला हुन्थे।
यस लेखको आशय चीनले निकट भविष्यमा नै बनाउन गइरहेको कृतिम चन्द्रमाको चर्चा गर्नु हो । चीनले सन् २०२२ सम्ममा चीनिया शहर चेगङ्दूको आकाशमा आफ्नो चन्द्रमा स्थापित गर्ने घोषणा गरेको छ। तियान फू न्यू एरिया साइन्स सोसाईटीका प्रमुख वू चुनफैंग भन्छन-हामीले स्थापित गर्ने चन्द्रमाको प्रकाश प्राकृतिक चन्द्रमाको प्रकाशभन्दा (पूर्णिमाको) आठ गुणा बढी हुनेछ।
कुनै पनि शहरको माथि कृतिम चन्द्रमा स्थापित गर्नु आजको विज्ञानसामू ठुलो चुनौती होइन।असल चुनौती यसरी बनाईएको चन्द्रमालाई एउटै शहर माथिको आकाशमा राखि राख्नु हो। पृथ्वीको गुरुत्वाकर्षणले गर्दा अन्तरिक्षमा पठाइएका जुनसुकै मानवीय वस्तु पृथ्वीतिर खस्नुका साथै पृथ्वीको परिक्रमा गरि राख्छन्। याद राख्नुस्, पृथ्वी मात्रै आफ्नो अक्षमा घुम्ने होइन।
पृथ्वी माथिको वायुमण्डल पनि उचाइ अनुसार फरक फरक गतिले घुमिरहेको हुन्छ । यो वायुमण्डल नघुम्ने हुँदो हो त एउटा बेलुनमा केही कि माथि गइ पर्खेर आफू मुनिको पृथ्वी घुमेर अमेरिका तलतिर आउँदा-ओर्लिदा मानिस केही किमिको यात्रा गरेर नै अमेरिका पुग्ने थियो । पासपोर्ट र भीसाको झन्झट नै समाप्त हुने थियो। तर यस्तो हुन्न। पृथ्वीसँगै पृथ्वीको माथिल्लो वातावरण पनि घुमिरहन्छ।
‘इलुमिनेसन स्याटेलाईट’ नाम दिइएको यस अभियानका प्रमुख वू चुनफेङ्ग समक्ष निर्माणाधीन चन्द्रमालाई एउटै शहरमाथिको आकाशमा केन्द्रित राखि राख्ने र पृथ्वीको गुरुत्वाकर्षण प्रभावबाट मुक्त राख्ने चुनौती छन्। यस निमित्त उनको चन्द्रमा प्रतिपल आफ्नै इन्जिनले गतिमान भइराख्नु पर्ने हुन्छ । वैज्ञानिकले पठाएका अन्य ‘स्याटेलाईट’का सन्दर्भमा भने यस्तो बाध्यता हुदैन।
‘इन्टरनेसनल स्पेस स्टेसन’ कै हकमा यो पृथ्वीको गुरुत्वाकर्षण माफिक गति गर्छ। यसले झण्डै ९० मिनेटमा पृथ्वीको एउटा परिक्रमा पूरा गर्छ। यसभित्र रहेका मानिसले दिनमा १६ पटक सूर्योदय र सूर्यास्त हेर्न पाउछन्। भनौं यसले २४ घण्टामा पृथ्वीको १६ वटा परिक्रमा पुरा गर्छ।
चीनियाँ चन्द्रमा ‘इन्टरनेसनल स्पेस स्टेसन’ भन्दा तल स्थापित गर्ने योजना रहेको छ। यो आकारमा ‘स्पेस स्टेसन’ भन्दा ठूलो हुने छ । एउटा फुटबल ग्राउण्ड जत्रो आकारको ‘स्पेस स्टेसन’लाई तीन वटा विभिन्न टुक्रामा विभाजित गरेर अन्तरिक्षमा जडान गरिएको थियो।
चीनले आफ्नो ‘इलुमिनेसन स्याटेलाइट’ कति वटा टुक्रामा प्रक्षेपण गर्ने हो, अझैसम्म केही स्पष्ट गरेको छैन। रुस, अमेरिका र चीनसँग विभिन्न टुक्रामा पठाइएको वस्तु अन्तरिक्षमा जोडने प्रविधि सम्पन्नता उपलब्ध छ। चीनको चन्द्रमाले ८० वर्ग किमिको क्षेत्रलाई रात्रिको अन्धकारमा रोशन बनाउने क्षमता राख्ने छ।
संसारभरिका वैज्ञानिकहरुका लागि चीन जस्तो चन्द्रमा बनाउने कार्य मुश्किल होइन। तर यसरी बनाइएको चन्द्रमालाई एउटै शहरमाथि फोकस गरिराख्नु यस अभियानको सबभन्दा जटिल पक्ष हो। चीनले जुन अन्तरिक्ष कक्षमा (स्पेस अर्बिट) चन्द्रमा स्थापित गर्ने भनेको छ त्यो झण्डै ९२ देखि ९७ मिनेटको अर्बिट हुनेछ। भनाईको अर्थ यस उचाइमा रहेको चन्द्रमाले (इलुमिनेसन स्याटेलाइट) ९२ देखि ९७ मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ।
यसको सोझो अर्थ चन्द्रमा चेगंदू शहरमाथि नै रहि रहदैंन।चेगङ्दू शहरको आकाशमाथि फोकस गरी राख्न यसलाई झण्डै ७ किमि प्रति सेकेण्ड अर्थात झण्डै २७,४०० किमिको वेगले हुइक्याइ राख्नु पर्छ । यसलाई गति प्रदान गर्न निरन्तर पृथ्वीबाट इन्धनको आपुर्ति गरिराख्नु पर्छ जुनकि अत्यन्त महंगो कुरा हो ।
‘इन्टरनेसनल स्पेस स्टेसन’का लागि निरन्तर इन्धन एवम् त्यहाँ बस्ने मानिसलाइ आवश्यक पर्ने सामग्री पृथ्वीबाट पठाईने गरिन्छ । पृथ्वीबाट अन्तरिक्षसम्मको ढुवानी लागत भण्डै १५ हजार डलर प्रति किलोग्राम पर्न आउँछ । ‘स्पेस स्टेसन’लाई अर्बिटमा राखिराख्न वर्षेनी झण्डै १५ हजार लिटर ‘फ्युल'( unsymmetrical dimethylhydrazine ((CH3) 2NNH2)) र नाइट्रोजन टेट्रोअक्साइड ((N2O4) ) ‘अक्सिडाइजर’का रुपमा आवश्यक पर्छ ।
‘स्पेस स्टेसन’को तुलनामा चीनिया चन्द्रमालाई चेगंदू शहरमाथि फोकस गरिराख्न बीसौं गुणा बढी ‘फ्युल’ र ‘अक्सीडाइजर’ आवश्यक पर्छ। यति मात्रामा इन्धन अन्तरिक्षसम्म पैठारी गर्नु अत्यन्त महँगो पर्न जान्छ। निश्चय पनि चीन ‘बढी लगानीमा कम प्रतिफलको व्यापार’ गर्ने मुलुक होइन।
चीनसँग आफ्नो ‘इलुमिनेसन स्याटेलाइट’ अर्थात कृतिम चन्द्रमालाई चेगंदू शहरमाथि नै फोकस गरिराख्ने कुनै नयाँ प्रविधि हात परेको हुनसक्छ। हो, ३६ हजार किमि माथिको अन्तरिक्षमा भने कुनै पनि वस्तु पृथ्वीसँगै घुम्छ र उसको ‘अर्बिट मेन्टेन’ गर्ने लागत पनि अल्प हुन्छ। चीनिया चन्द्रमा झण्डै ४ सय किमि. माथि अँतरिक्षमा स्थापित गर्ने योजना हो।
यहाँ चन्द्रमा (इलुमिनेसन स्याटेलाइट) स्थापित गर्ने जुन चुनौती छन्। त्यसको निराकरणको उपाय रुस र अमेरिका जस्ता उन्नत राष्ट्रसँग छैन भन्नुमा केहि अन्यथा हुन्न। चिनियाँ अभियानले सफलता पाएको खण्डमा (कम लागतमा) यो मानवताको अत्यन्त ठूलो छलाङ हुनेछ।
निर्विवाद रुपले यस पछि विश्व पर्यटनको केन्द्र चीनको चेगङ्दू शहर नै हुनेछ-मानवताको नयाँ मक्का-काशी र जेरुसलम अर्थात मानव निर्मित चन्द्रमाको शहर चेगङ्दू।