
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गरेका छन्। चाडपर्वहरुलाई लक्ष्यित गर्दै मोदीले भनेका छन्- लकडाउन सकिएको छ तर कोरोना सकिएको छैन। त्यसैले भ्याक्सिन नआउँदासम्म लडिरहौँ। थोरै लापरबाहीले पनि हामीलाई रोक्न सक्छ।
मोदीले भारतमा पनि भ्याक्सिनका लागि काम भइरहेको उल्लेख गर्दै चाँडै तयार हुने विश्वास व्यक्त गरेका छन्। उनले अमेरिका र ब्राजिलजस्ता देशको उदाहरण दिँदै कोरोनाविरुद्धको लडाइँमा भारत सम्हालिएर अगाडि बढिरहेको बताएका छन्। निको हुने दर बढी र मृत्युदर कम रहेको भन्दै यो स्थितिलाई बिग्रन नदिन उनले आग्रह गरेका छन्।
‘भारतमा प्रति १० लाख जनसंख्यामा साढे ५ हजार संक्रमित भएका छन् जबकी अमेरिका र ब्राजिलमा यो तथ्यांक करिब २५ हजार छ। भारतमा प्रति १० लाख जनसंख्यामा ८३ जनाको मृत्यु भएको छ। जबकि अमेरिका, बेलायतजस्ता देशमा यो संख्या ६ सयभन्दा बढी रहेको छ’, मोदीले भनेका छन्।