
नेपालगञ्ज – नेपालगञ्जको फोरलेन सडकको विभिन्न ठाउँमा खाल्टाखुल्टी भएका छन् । फोरलेन सडक बनाउँदा शोभामय भएको सुर्खेतरोड बीचबीचमा परेका खाल्टाखुल्टीले कुरुपमात्रै देखिएको छैन, दुर्घटनाको संभावना बढाएको छ ।
नेपालगञ्जको वीपीचोक नजिकको गुरुद्वारा अगाडि ठूलो खाल्टो भएको छ । बीचमा सडकमा खाल्टो हुँदा सवारी साधनसहितका यात्रुहरु किनारा लागेर हिँड्नु पर्ने बाध्यता भएको छ । यो ठाउँमा प्रायः खाल्टो भइरहन्छ ।
खानेपानीको पाइप फुटेपछि निस्किने पानीले बाटोलाई खाल्टो बनाइदिने गरेको छ । यसअघि त्यो ठाउँमा टालटुल गरिए पनि फेरि खाल्टो भएको छ ।
त्यहाँ मात्रै होइन, अलिकति अगाडि धम्बोझीतिर बढ्दा बेलासपुर जाने ठाउँ नजिक अर्को खाल्टो देख्न सकिन्छ । यो खाल्टो पनि सवारी साधनलाई दुर्घटना गराउन काफी नै छ ।
फोरलेन सडकमा हुइकिएर सवारी साधन चलाउनेलाई खाल्टोले झस्क्याउने गरेको छ । तीब्र होस् या सुस्त गति, सडकको बीचमा भएको खाल्टोले चालकलाई झस्क्याइरहेको छ ।
पप्पु कन्ट्रक्सनले बनाएको नेपालगञ्जको फोरलेन सडक खाल्टो पर्न थालेको अलि पहिलेदेखि नै हो । खास गरेर बाटो बनाउने बेलामा खानेपानी कार्यालय र ठेकेदारको समन्वय नहुँदा अहिले दुःख झेल्नु परिरहेको छ ।
सानो सडक हुँदा छेउछाउमा परेको खानेपानीका पाइप बाटो फराकिलो हुँदा बीचतिर परेका छन् । त्यो बेलामा फुटिरहदा सडक खन्नु पर्ने बाध्यता भएको छ ।
यसरी खनिएका बाटो महिनौसम्म मर्मत गरेको पाइँदैन । अलिअलि माटो पटान गरेपनि त्यो दीर्घकालीन हुन सकेको छैन । नेपालगञ्जका प्रवक्ता प्रमोद रिजालले खानेपानीको पाइप फुट्दा जति टालेपनि सडकमा खाल्टो पर्ने गरेको बताए ।
फोरलेनमा परेको खाल्टाखुल्टी मर्मत गर्न अझ समस्या देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सडक विभागलाई देखाउने गर्दछ । खासमा खानेपानी कार्यालयका कारण सडकको बीचमा खाल्टा हुने गरेको छ ।
मर्मत जुन कार्यालयले गर्ने भएपनि छिटो मर्मत गरेर जनतालाई दुर्घटनाको जोखिमबाट बचाउनु पर्ने स्थानीयको माग रहेको छ ।
गुरुद्वाराकै अगाडि कम्तीमा आधा दर्जन ठाउँमा खाल्टाखुल्टी परिसकेको छ ।
सडकमा खाल्टो हुने बित्तिकै कहिले हाँगा गाडेर त कहिले खतराको बोर्ड लगाएर डाइभर्सन गर्ने गरिएको छ । यसपाली लामो समयदेखि परेको खाल्टोबारेमा कसैको ध्यान पुगेको देखिँदैन ।