
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनाप्रति चासो व्यक्ति गर्दै सरकारलाई तत्काल उद्धार गर्न माग गरेको छ।
केही दिनअघि देहरादुनमा अध्ययन गरिहेका ५१ जना विद्यार्थीमाथि विद्यालयका जिम्मेवार व्यक्तिले नै सांघातिक आक्रमण गरी घाइते बनाएका थिए। घर जान माग गर्दै निवेदन दिएका विद्यार्थीलाई देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं लामा रिम्पोचे ज्ञानबज्रले बन्धक बनाउँदै कुटपिट गरेका थिए।
विद्यार्थीमाथि फलामको रडले समेत गम्भीर चोट लाग्ने गरी आक्रमण गरिएको पीडित विद्यार्थीका अभिभावकले जनाएका छन्।
घटनाको भत्साना गर्दैै विपक्षी कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकारसँग आग्रह गरेको छ।
‘कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ,
प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै अगाडि भनेका छन्, ‘अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र दिल्लीस्थित नेपाली दूतावासले घटनाबारे जाँचबुझ गर्ने काम भइरहेको जनाएका छन्।