
नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण सुरु गरिएको हो।
चाडपर्वलाई लक्षित गरी गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गरे।
उनले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घरघरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको कम गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गरे।
प्रत्येक वडामा तीन जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए। उनका अनुसार, गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्ग, एकल महिला, विधवा गरी तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ।
७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रतिमहिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधवालाई प्रतिमहिना दुई हजार, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार ६ सय, ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले जानकारी दिए।
यसैगरि अपाङ्गत भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ।
कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरी घरदेलो अभियान अन्तर्गत रकम वितरण गरिरहेका छन्।