
काठमाडौँ– आज ‘विश्व सहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ। विश्वमा अहिले कोरोनाको कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन्। यद्यपी विभिन्न फोरमहरु र भर्चुअल सेमिनारहरु भइरहेका छन्।
विश्वभरी विश्व सहरीकरण दिवस ‘आफ्नो सहर र समुदायलाई जोगाएर राखौँ र महत्व दिऔँ’ भनेर मनाइएको छ। नेपालले ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ मनाइरहेको छ।
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो। यो सातौँ विश्व सहरीकरण दिवस हो। व्यवस्थित सहर भन्ने वित्तिकै जनमैत्री, पर्यावरणमैत्री र वैज्ञानिक व्यवस्थापन भएको बुझिन्छ। यसका साथै सहरमा बस्ने समुदायलाई आवास, यातायात, सञ्चार र अन्य सेवा सुविधाहरु सहज र सघन ढंगले उपलब्ध गराउने गरी योजना बनाइएको हुन्छ।
बढ्दो अव्यवस्थित सहरीकरणले काठमाडौँ जस्तै देशका अन्य ठूला सहरहरु र सहरोन्मुख नगर/गाउँहरु आक्रान्त बन्दै गएका छन्। नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० वटा आधुनिक सहरको परिकल्पना गरी काम अघि बढाएको छ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तरगत विभिन्न १० वटा सहर निर्माणका लागि पनि काम भइरहेको बताए। विश्व सहरीकरण दिवसका अवसरमा मन्त्री मानन्धरले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियानसँग जोडेर मन्त्रालयले काम गरिरहेको बताए।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सहरी जीवन र अर्थतन्त्रलाई चलायमान बनाउ नयाँ व्यवसाय गर्ने युवाहरुलाई सीपमूलक कार्यमा प्रवर्द्धन ‘काठमाडौँ विजनेश हब कार्यक्रम’, सहरमा बस्ने महिलाहरुलाई उद्यमशील बनाउन महिला उद्यमशिलता प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।
महानगरले शहरी वातावरण प्रवर्द्धनका लागि खुला र सामुदायिक स्थानमा ३० वटा पार्क निर्माणका लागि डिजाइन सम्पन्न गरी निर्माण सुरु भएको सरोज बस्नेत बताए।
सहरमा खानेपानी, यातायातको समस्या वातावरणीय र नदीनाला प्रदूषणले शहरी जीवन आक्रान्त बनेको छ। अहिले उपत्यका लगायत मुख्य ठाउँहरुमा घनाबस्तीका कारण तापमानमा समेत बृद्धि भएको छ। बस्तीहरुमा पानीको निकास नहुँदा बाढीको समस्या नदीहरुमा प्रदूषणको समस्या छ। यसको समाधानका लागि सबैले काम गर्नुपर्ने आवश्यक देखिन्छ।