
हुम्ला – गएको चैत ११ गतेबाट कोभिड–१९ का कारण देखाउँदै देशभरका विद्यालय बन्द भए । यही मेसोमा हुम्ला जिल्लाका पनि अधिकांश विद्यालय बन्द भए ।
तर, जिल्लाको हिमाल पारी, लिमी उपत्यकामा भने विद्यालय नियमित सञ्चालन भए । नाम्खा गाउँपालिका वडा नम्बर ६ को हल्जी गाउँमा सुनखानी प्राथमिक विद्यालय छ । अभिभावकहरुले विद्यालय बन्द हुन दिएनन् । विद्यार्थीका आमाहरु पालैपालो विद्यालयमा आए । खानेकुरा बनाउँदै विद्यार्थीलाई खुवाए । समुदायले व्यवस्था गरेका शिक्षकले नियमित शिक्षण गरे ।
हल्जी गाउँको नियम अनुसार विद्यालय बिहानैबाट सञ्चालन हुने भएपछि विद्यार्थी र शिक्षकलाई बिहानको खाना विद्यालयमै पकाएर खुवाउने गरिएको दुई बच्चाकी आमा सोनामपुटी तामाङले बताइन् । नेपाली राम्रोसँग नबुझ्ने तामाङले विद्यालयका शिक्षक मार्फत भनिन्, ‘छोराछोरीको पढाइ राम्रो बनाउन यस्तो गरिएको हो ।’
हुन पनि महामारी सुरु भएपछि गाउँमा नयाँ मानिस आउन पाएनन् । गाउँकाहरु पनि अन्यत्र गएनन् । कोरोना महामारी फैलिए पनि आफ्नो गाउँमा यसको असर नभएपछि समुदायले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गर्यो।
बिहान आठ बजे विद्यार्थी र शिक्षकहरु विद्यालयमा पुगेपछि तीन आमा पनि खाना तथा खाजा तयारीको लागि पुग्छन् । आफू नपढेर दुःख पाए पनि भोलि छोरोछोरीले आफ्नो जस्तो दुःख भोग्नु नपरोस भन्नका लागि यहाँका मानिस शिक्षाप्रति समर्पित छन् ।
यहाँ सरकारी दरबन्दीका शिक्षक नियमित रहँदैनन । राम्ररी पढाउँदा पनि पढाउँदैनन । त्यसैले शिक्षाप्रति जागरुक अभिभावकले सामुदायिक स्रोत अर्थात, निजी स्रोतमा शिक्षक राखेका छन् । निजी स्रोतका शिक्षकले नै ११ महिना पठनपाठन गराउँछन् । चाँडै विद्यालय आउने बालबालिकालाई पठनपाठनमा केन्द्रित गर्न गाउँको सामुहिक निर्णय अनुसार खाना पकाएर खुवाउन थालिएको हो ।
हल्जी गाउँमा ८७ घरपरिवार छन् । गाउँको विद्यालय, सुनखानी प्राविमा कक्षा १ देखि ६ सम्म पढाई हुन्छ । अहिले यहाँ ५३ जना विद्यार्थी पढ्छन् । यी विद्यार्थीलाई उनीहरुकै आमाहरुले पालैपालो खाना पकाएर खुवाउँछन् ।
अंग्रेजी माध्यामबाट पढाई हुने यस विद्यालयमा बिहानी खाना विद्यालयमा खाने व्यवस्थाले महत्वपूर्ण भुमिका खेलेको निजी श्रोतका शिक्षक सोनाम नोर्बु तामाङले बताए । अमेरिकी नागरिक माइकलले यहाँ कार्यरत तीनजना स्थानीय शिक्षकको पाँच वर्षको आर्थिक जिम्मेवारी लिएका छन् ।
लिमी उपत्यकाकै अर्को जाङ गाउँको भृकुटी प्राविमा पनि यो अवधिमा पठनपाठन जारी रह्यो । तर सुनखानी जस्तो नभई सिधा रुपमा विद्यालयमा पठनपाठन भयो । दशबवजेदेखि चार बजेसम्म भृकुटीमा पनि निजी श्रोतका शिक्षकबाट पठनपाठन हुँदै आएको छ । मानिसहरुले गाउँ छोड्ने क्रम बढेको कारण यहाँ विद्यार्थी संख्या भने न्यून छ । एउटा कक्षामा दुई देखि तीनजना विद्यार्थी रहेका छन् । तर पनि कोभिडको समयमा पनि पढाई निरन्तर रह्यो ।
यी दुई विद्यालयमा कोरोना कहरका बिच पनि पठन पाठन जारी रहनुको मूख्य कारण मुलुकको ऐन भन्दा खोलाको चैन ठुलो भन्ने नेपाली उखान चरितार्थ देखिन्छ । यहाँ अविभावक, शिक्षक र विद्यार्थीको इच्छा शक्तिले प्रभावकारी काम गरेको छ । कानून अनुसार त सरकारले कोरोनाका बेला पठनपाठन बन्द गर्न लगाएको थियो। तर पनि लिमीको समुदायलाई त्यसले कुनै फरक पारेन र पढाइ निरन्तर चलि नै रह्यो र यो क्रम हालसम्म जारी रहेको छ ।
यसरी निरन्तर पढाई भइरहेको सुनखानी प्राविको कक्षा पाँचमा अध्ययनरत छात्रा उषा तामाङले भनिन्, ‘कक्षा चढ्न र शैक्षिक सत्रमा केही बाधा पुग्ने कुनै समस्या नै छैन ।’
यी विद्यालयमा अर्धवार्षिक परीक्षा लिई सकिएको छ भने वार्षिक परीक्षा लिने तयारीमा शिक्षक रहेका छन् । अरु विद्यालय गुनासाको बिस्कुन फिँजाएर बसेका छन् । यी विद्यालय शैक्षिक सत्रको अन्तिम तयारी गरिरहेका छन् ।
कोरोनाका कारण विद्यालय बन्द भएका बेला विद्यार्थीको पढाई नरोकियोस् भनेर विभिन्न प्रयास भयो । राष्ट्रव्यापी रुपमा यस विषयमा बहस भयो । सरकारको निष्क्रियतामा शिक्षक सम्बद्ध निकायहरु र विज्ञले पनि प्रश्न उठाए । विभिन्न जिल्लाका विद्यालयहरुमा शिक्षकले नमूना गतिविधिहरु पनि सञ्चालन गरे । सरकारले वैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिने कुरा गर्यो । देशका विभिन्न विद्यालयहरुले शिक्षकलाई विद्यार्थीहरु समक्ष पुग्ने फरक फरक माध्यम अपनाए । कतिपयले थोरै संख्यामा शिक्षक बोलाए । कतिले फोनबाट पढाए । कतिले अनलाईन त कतिले समुदायमै गएर विद्यार्थीहरुलाई सानो समूहमा विभाजित गरेर शिक्षण गरे । कतिपय ठाउँमा त शिक्षक विद्यार्थीको घरमै पनि पुगेका उदाहरणहरु सार्वजनिक भए ।
तर, कर्णालीका जिल्लाहरुमा निराशाजनक अवस्था सार्वजनिक भइरहेको छ । लिमी उपत्यकाका विद्यालयहरुमा जस्तो उत्साह देखिने अवस्था आएको छैन । हुम्लाको सूर्योदय माविमा कक्षा नौमा अध्ययनरत छात्रा पविना भण्डारी भन्छिन, ‘वार्षिक परीक्षा आउने बेला भयो तर पढाईको सुरसार नभएपछि शैक्षिक सत्र के होला भन्ने चिन्ता लागेको छ । साढे सात महिनासम्म शिक्षक र शिक्षा क्षेत्रका सरोकारवाला निकायबाट कुनै वैकल्पिक उपाय बारे सोचेको नपाइएको र शिक्षकहरुमा उत्साहजनक सक्रियता पनि देखिएन ।’ उनले त वैकल्पिक पठन पाठनका लागि अविभावकको तर्फबाट पहल कदमी हुन नसकेको पनि बताइन् ।
कर्णालीकै जुम्ला जिल्लाको चन्दननाथ माविमा अध्ययन गर्ने छात्र पवन सुनारले पनि पढाईका बारेमा कुनै पहल नभएको बताए । बारम्बार विद्यालयका सरहरुसँग सम्पर्क गरेर पढाईका बारेमा जानकारी लिएपनि पढाउने वातावरण नबनेको उनले बताए । सोही विद्यालयमा प्रधानाध्यापक टंकबहादुर महत प्रयासै गरिए पनि सफल नभएको बताउँछन् । वैशाख जेठपछि महतको विद्यालयले फेसबुकबाटै गृहकार्य दिने काम गरेर पढाई सुचारु गरेको थियो । पछि अनलाइनमा जोडिने कार्य पनि गर्दा नेटमा पहुँच, साधनको अभावले गर्दा विद्यार्थीको सहभागिता भएन । यसपछि यो विधि पनि उक्त विद्यालयले छाडेको थियो ।
सबै क्षेत्र खुला रहने तर शिक्षा क्षेत्र मात्र बन्द रहने भएपछि चन्दनाथ नगरपालिकाको नगर शिक्षा समितिको बैठकमा सावधानी अपनाएर विद्यालय खुलाउनु पर्छ भन्ने आवाज महतले उठाएका थिए । तर, स्थानीय प्रशासनले सो गर्न नदिएकोमा चित्त दुखाई छ उनको । त्यति मात्र होइन महतको विद्यालयले जुम एप पनि डाउनलोड गरेर पठन पाठन सुरु गर्यो । यो पनि सफल भएन । ‘सबै बिकल्पमा प्रयास गरेको तर विद्यार्थी संख्या धेरै भएको कारण मावि तहमा पठन पाठन गर्नै कठिन भएकोले अव विद्यालय मै पठन पाठन सुचारु गर्नुपर्छ भन्ने मान्यता मैले बनाएको हुँ’, प्रधानाध्यापक महत भन्छन्, कोरोना कहर नभएको गाउँपालिकामा सीमित विद्यार्थी भएको विद्यालयहरुलाई पनि पठनपाठन सुचारु गर्न प्रोत्साहित गरिएन ।
डोल्पा जिल्ला मुड्केचुला गाउँपालिकाको शिक्षा शाखाका अधिकृत सिंहराज डाँगीले निक्कै प्रयासपछि १३ वटा विद्यालयमा पठन पाठन सुरु गरिएको बताए । डोल्पाका यी विद्यालय गएको साउन महिनाबाटै सञ्चालनमा आएका थिए। अधिकृत डाँगीका अनुसार गाउँपालिका आउने एउटा मात्र नाका भएको कारण पनि विद्यालय खुलाउन सहज भएको हो ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तय गरेका बैकल्पिक सिकाईका सबै विधि बारे गाउँपालिकामा अध्ययन पश्चात नै उपलब्ध वैकल्पिक बिधि प्रयोग गरिएको र केही उपाय नलाग्ने ठाउँमा विद्यालय नै संचालन गरिएको डाँगीले बताए । यसका लागि गाउँपालिकाले विद्यालयहरुलाई कम्प्युटर, टेलिभिजन र डिस समेत वितरण गरेको थियो । तीन वटा मावि र दश वटा आधारभुत विद्यालय रहेको उक्त गाउँपालिकामा विद्यालय आउने छात्रछात्राको संख्या बढ्न थालेपछि अन्य विधि बन्द गरेर कक्षाकोठामै पठनपाठन निरन्तर गरिएको हो । दशैमा एक हप्ता बन्द भएर विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् ।
हुम्ला जिल्लाका चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिका र त्यहाँका विद्यालयले गैरसरकारी संस्थाहरुसंग समन्वय गरेर सिकाई सहजिकरण कक्षा सञ्चालन गरेर पढाई प्रति साना बालबालिकालाई निरन्तर आकर्षित गरिरहे । आधार विकास सिमकोट र नाम्खा गाउँपालिकाका लागि स्थानीय एफएम रेडियोबाट कक्षा सञ्चालन गरेर पढाईलाई निरन्तरता दिने काम भएको छ । जसबाट खार्पुनाथ गाउँपालिकाका विद्यालयहरु पनि लावान्भित हुदै आएका छन् । खार्पुनाथका सबै विद्यालयमा रेडियोको सहज पहुँच छ । तर यसरी रेडियोबाट कक्षा सञ्चालन भई सकेपछि अधिकांश विद्यालयले शिक्षक परिचालन गरेर यस वारे प्रचार गर्ने काम समेत गरेनन । शुरुमा गैसससँगको समन्वयमा यस्तो प्रयास भएको भए पनि यसलाई निरन्तरता दिने पक्षमा गाउँपालिका देखिएन ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले सकिंँदैन भनेर ठोकुवा नै गरे । खार्पुनाथ गाउँपालिकाका स्थानीय बरजंग हमाल शिक्षकलाई मतलवै नभएको बताउँछन् । तलब पाकेकै छ, उनीहरुलाई त अन्य काम गर्न पो सहज भो, उनी बताउँछन् । यता जिल्लामा शिक्षकहरुका सैद्धान्तिक रुपमा आस्था राख्ने संघ संघठन र महासंघ पनि छन् । तर हालसम्म कुनै पक्षबाट कोरोनाका बेला वैकल्पिक शिक्षक विधिका बारेमा वकालत गर्नु आवश्यक ठानेको देखिएन ।
शिक्षा विकास तथा समन्वय इकाईले उपलब्ध गराएको बिबरण अनुसार हुम्लामा १४४ वटा सामुदायिक विद्यालयमा ५१५ जना शिक्षक कार्यरत छन् । यहाँ सामुदायिक र संस्थागत गरी १५० विद्यालयमा बीस हजार विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका–२०७७ मा महामारीको अवस्थामा वैकल्पिक माध्यमहरु रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा, सिकाई सहजिकरण कक्षा, टोल शिक्षा लगायतका माध्यमबाट पठनपाठन सुचारु राख्न सकिने उल्लेख छ ।
तर फागुनदेखि शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लाका नब्बे प्रतिशत विद्यालयमा यी माध्यम पनि प्रभावकारी हुन सक्ने अबस्था छैन ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले गरेको अध्ययनअनुसार कर्णालीका १० जिल्लाका १८ दशमलव ४ प्रतिशत विद्यालयमा मात्रै इन्टरनेटको पहुँचमा छ । नेपाल टेलिभिजनको पहुँचमा कर्णालीका नौ दशमलव ५४ प्रतिशत विद्यालय छन् भने स्थानीय टेलिभिजनको पहुँच भएका विद्यालय पाँच दशमलव ९१ प्रतिशत रहेका छन । रेडियो नेपालको पहुँचमा ८३ दशमलव १९ प्रतिशत छन् भने स्थानीय एफएमको पहुँचमा रहेका विद्यालय ७४ दशमलव १६ प्रतिशत छन् । कर्णालीमा कुनै पनि विद्युतीय सञ्चारको पहुँच नपुगेका विद्यालय आठ दशमलव ९१ प्रतिशत छन । सेभ द चिल्ड्रेनले आफ्नो अध्ययन प्रतिवेदनमा फागुनदेखि शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लाका विद्यालयमा रेडियो, टेलिभिजन, इन्टरनेट लगायत वैकल्पिक शिक्षण सिकाइको अवस्था नाजुक रहेको उल्लेख गरेको छ ।
प्राविधिक रुपमा केही असहज अवस्था रहे पनि शिक्षकले आफ्नै बुताले गर्न सकिने प्रशस्त कार्यहरु पनि गरिएको पाइएन । यो कठिन समयमा शिक्षकहरुले आफ्नो क्षमता र समर्पण प्रदर्शन गर्न सक्नु पर्ने थियो, तर यसो हुन सकेन । हुम्लाको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले ठाउँ र अवस्थाले गर्दा कुनै बिकल्प दिन नसकिएको स्वीकार गरे । हुम्ला कै अति चहल पहल हुने उनको विद्यालयमा विकल्पका कुनै प्रयास पनि गरिएको छैन् । सबैजना डराएको कारण कुनै पनि गतिविधि हुन नसकेको उनले बताए । विद्यार्थी संख्या पनि बढी भएको उक्त विद्यालयमा छरिएको बस्ती भएको कारण टोल शिक्षण विधि पनि गर्न कठिन भएको उनले बताए ।
शिक्षकले मात्र केही गर्न नसक्ने र जिम्मेवार निकायलाई सुझाव दिदा सुनुवाई नभएपछि चुप लाग्नुको विकल्प नभएको रोकायाको भनाई छ । आफ्नो विद्यालय अहिले पनि अनेक उपाय अवलम्बन गरेर पठन पाठन सुरु गर्न तयार भएको भए पनि माथिल्लो निकाय यसवारेमा मौन बस्दा भोलि संभावित आउने सक्ने जोखिमलाई मध्यनजर राखेर मौन बस्नु बाध्यता रहेको उनले बताए । ‘केही गर्नका लागि वाताबरण तयार गर्न सबैको सहयोगको आवश्यक पर्छ । तर सिंगो शिक्षा क्षेत्र हेर्ने जिम्मेवारी लिएको गाउँपालिकालाई चासै छैन ।’
हुम्लाका अधिकाँस प्रधानाध्यापकहरुले अर्को निकायलाई औँला देखाए पनि आफ्नै तर्फबाट गर्न सक्ने, विद्यार्थी सम्म पुग्न सहज उपायहरु अवलम्बन गरेको उदाहरण प्रस्तुत गर्न सकेनन । शिक्षक परिचालन गरेर विद्यार्थीहरुलाई सक्रिय पारिरहेको र उनीहरुको शैक्षिक सत्र खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्न सकेनन ।
हुम्ला जिल्ला कोरोनाबाट अति प्रभावित जिल्ला होइन । धेरै गाउँमा त महामारीको कुनै संकेत पनि छैन । यस कुरालाई ध्यानमा राखेर सावधानी अपनाएर पढाईलाई निरन्तरता दिन यहाँका शिक्षकहरुले कुनै योजना पनि निर्माण गर्न सकेनन् ।
संघीयता अघि जिल्लामा आउने शिक्षा बजेटको सम्पूर्ण अंशमा चलखेल गर्न पाउने साबिकको जिल्ला शिक्षा कार्यालय (हाल शिक्षा विकास तथा समन्वय इकाई) अहिले बजेट चलाउन नपाएपछि रन्थनिएको देखिन्छ । इकाईले पनि जिल्लाका शिक्षक नेताहरु, पालिकाका प्रतिनिधिहरु, शिक्षा अधिकृतहरु र अन्य सरोकारवालासंग समन्वय गर्न सक्रियता देखाएन ।
ईकाई प्रमुख बिष्णु बहादुर शाही बैकल्पिक शिक्षण बिधि बारे विद्यालयका प्रअसंग छलफल गर्ने प्रयास गरेको बताउँछन् । तर उनको त्यो काम पनि झारो टराई देखिन्छ । किन कि निरन्तर प्रयास गरेर सबैलाई एक ठाउँ ल्याउन उनले सकेको देखिएन । शिक्षा विकास तथा समन्वय इकाईले गाउँपालिकाका शिक्षा शाखाहरुलाई निरन्तर बेवास्ता गर्दै आएको गुनासो छ ।
विद्यालय सुचारु गर्ने वा अरु विकल्पक कसरी दिने भन्ने विषयमा सिमकोट गाउँपालिकाले शिक्षा क्षेत्रसंग सरोकार राख्ने निकायबिच समन्वय बैठक आयोजना गरेको थियो । तर, त्यहाँ शिक्षक र कर्मचारीबाट सकारात्मक सुझाव र उत्साह नआएको उपाध्यक्ष वली रावतले बताए । उपाध्यक्ष रावतले भने, ‘तर अब जसरी पनि विद्यालयमा पठन पाठन सुचारु गर्नुपर्छ । अब गाउँ शिक्षा समितिको बैठक बसेर यसबारेमा निर्णय गरिन्छ ।’
विद्यालयहरु बन्द हुँदा चिन्तित मानसरोवर बहुमुखी क्याम्पसका सहायक प्रमुुख दिपक भण्डारी कमजोरी सबै क्षेत्रको भएपनि हुम्लामा शिक्षकका तर्फवाट विशेष पहल हुनुपर्ने तर हुन नसकेको बताउँछन् । ‘कम से कम नुन को सोझो गर्नेतर्फ त ध्यान जानु पर्ने हो । आफूले अध्यापन गर्ने विद्यालय, आफ्ना विद्यार्थी, चिनिरहेका अभिभावकहरु, उनीहरुसँग निरन्तर सम्वाद गर्नुपर्थ्यो । एउटा न एउटा उपायले त काम गरिहाल्थ्यो नि । तर, यहाँ त्यस्तो केही भएन’, भण्डारीले निराशा व्यक्त गरे ।
कर्णालीमा केही रचनात्मक काममा पनि शिक्षक लाग्नु भएको छ । तर अधिकाँस विद्यालय बन्द छन् । कतै प्रयास पनि गरेको पाईँदैन । चन्दननाथ माविका प्रअ महत शिक्षकलाई किन कुनै प्रयास गर्न मन नलागेको होला भनेर छक्क पनि पर्छन । गोठालो जानु, किसानी गर्नु, वा अनावश्यक रुपमा समय बिताउन भन्दा बुद्धि लगाएर सिकाइ सहजीकरण गरेको भए शिक्षकले स्याबासी नै पाउँथे होला भन्ने पनि उनलाई लाग्छ । केही नगर्दा शिक्षक माथि प्रश्न उठ्नु स्वभाविक भएको उनको भनाइ छ।
‘यो बेला कोरोना त झनै सरकारको काम कहिले जाला घाम भन्ने उखान जस्तै भएको’ सहायक क्याम्पस प्रमुख भण्डारीले बताए । ‘हुन त राम्रो काम गर्ने शिक्षक पनि नभएका होईनन तर राम्रो गर्ने र केही पनि नगर्नेलाई एउटै तराजुमा राख्नु पर्ने अबस्था कोरोनाले ल्याइदियो । अहिलेको विषम परिस्थितिमा शिक्षकले प्रभावकारी भूमिका नखेलि दिँदा अब उनीहरुको योग्यतामा नै प्रश्न उठाउनु पर्ने बेला आएको’ तर्क भण्डारीले गरे ।