
काठमाडौँ– नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ। कांग्रेसका नेताहरु खुलामञ्च पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन्।
कांग्रेसको कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाश शरण महतले काठमाडौँ महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए।

प्रकाशशरण महत।
अभियानलाई समर्थन गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैले राहत पुर्याउनु पर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा स्वीकार्य नहुने बताए।
कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए। संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले बताए।
हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए। तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उनले बताए।

भिमसेनदास प्रधान।
कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न आग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताए। सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरुलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताएका थिए।