
वासिङ्टन-संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ।
अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि शुरु गरेको सो अभियानबाट आज बुधबार औपचारिक रुपमा बाहिरिएको हो।
उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि शुरु गरेको थियो। त्यस निर्णयको कार्यान्वयन बुधबार भएको बताइएको हो।
विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँग एक सम्झौता गरेको थियो ।
त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उहाँले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए।
अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए।
केही महिना अघिसम्म नै उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने सो निर्णय मानेका थिएनन्।