
काठमाडौँ – सांसद सूर्यबहादुर केसीको निधन भएपछि उनको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद हुने भएका छन्।
केसी खसआर्य क्लस्टरमा कांग्रेसका तर्फबाट समानुपातिक सांसद थिए। कास्कीका केसीको निधन भएपछि उनको ठाउँमा स्याङ्जाका मोहनप्रसाद पाण्डे सांसद हुने भएका हुन्।
कांग्रेस निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसी पाँचै नम्बरमा थिए भने पाण्डे छैठौँ नम्बरमा छन्।
समानुपातिक निर्वाचन प्रणालीअनुसार अघिल्लो रोलक्रममा रहेका व्यक्तिको निधन भएमा स्वत त्यसपछाडिको हुन पाउने व्यवस्था छ। निर्माण व्यवसायीको पृष्ठभूमि भएका पाण्डे यसअघि २०६४ सालमा पनि स्याङ्जा–३ बाट संविधानसभामा निर्वाचित भएका थिए।
खसआर्य कोटाबाट चुनाव लगत्तै पाण्डेसहित ६ जनाको कांग्रेसले सिफारिस गरे पनि पिछडिएको क्षेत्रबाट निर्वाचन आयोगले रामबहादुर बिष्टलाई तान्दा पाण्डे हटेका थिए।
सांसद नियुक्तिका लागि केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगलाई बन्दसूचीभित्रबाट नियुक्तिका लागि सिफारिस गर्नुपर्ने र आयोगले निर्णय गरेर संसदलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
गत सोमबार सांसद केसीको निधन भएको थियो । उद्योगीसमेत रहेका केसी मधुमेह र उच्चरक्तचापको समस्याले थलिएका थिए।