
काठमाडौँ– नेपाल बार काउन्सिलले एकजना कानुन व्यवसायीको प्रमाणपत्र खारेज गरेको छ भने अरु सातजनालाई नसिहत दिएको छ।
शुक्रबार बसेको काउन्सिल अनुशासन समितिको बैठकले सरकारी छाप किर्ते गरेको अभियोगमा दोषी ठहर भएका अधिवक्ता गुणराज निरौलाको प्रमाणपत्र (प्रमाणपत्र नम्बर ६३१७) रद्द गरेको हो।
निरौलाले सरकार छाप किर्ते गरेको अभियोगमा दश वर्षअघि नै भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भएका थिए।
हाल उक्त फैसला अन्तिम भइसकेको जानकारी महान्यायाधीवक्ता कार्यालयले काउन्सिललाई गराएपछि अनुशासन समितिले नैतिक पतन देखिने फैजदारी अभियोग पुष्टि भएकाले नेपाल कानुन व्यवसायी आचार संहिता २०५१ को नियम ७ (३) बमोजिम प्रमाणपत्र खारेज गरेको हो।
त्यस्तै बारले वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदी, अरविन्दकुमार झा, सञ्जयराज अधिकारी, प्रमोदकुमार सुवेदी, रमेशकुमार रिमाल, बाबुराम शर्मा रेग्मी र सुधा रिजाललाई नसिहत दिएको हो।
उनीहरुले आचारसंहिता विपरीत कार्य गरेको पुष्टि हुन आएको काउन्सिललले जनाएको छ।