काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबारदेखि ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान सुरु गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले शनिबार एक कार्यक्रमका बीच उक्त अभियान सुरु गरेका हुन्।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भदौ १६ गतेदेखि महाशाखाले काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखेको छ।
सो अभियानलाई थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान सुरु गरेको महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान सुरू गरिएको बताए।
उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक–चोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए।
उक्त कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए।
महाशाखाले गीत संगीतको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवं ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरेको छ।
सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ।
दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिने महाशाखाले जनाएको छ।