
काठमाडौँ-स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रुपमा यो पोर्टल सञ्चालित भएको हो ।
हाल अष्ट्रेलयमा रहेका शिक्षाकर्मीद्वारा सञ्चालत सो वेबसाइटको आज त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भर्चुअलरुपमा शुभारम्भ गरे। सो पोर्टलमा विश्वभरका विश्वविद्यालय र त्यहाँ अध्ययन हुने विषयबारे एकीकृत सूचना प्राप्त हुनेछ।
यसमा नेपालका सबै विश्वविद्यालयका ६०० विषयसमेत समावेश गरिएको पोर्टलका संस्थापक टीएन अर्यालले जानकारी दिनुभयो । एक वर्ष लगाएर २० जना जनशक्तिले तयार गरेको यस प्रकारको पहिलो पोर्टलमा विद्यार्थीले उच्चशिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोबास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसरलगायतका महत्वपूर्ण जानकारी समावेश छ ।
शिक्षाविद् माथेमाले विद्यार्थीले राम्रा प्राध्यापक, विश्वविद्यालयको वातावरण र शुल्कसमेत बुझेर भर्ना गर्ने भएकाले उनीहरुलाई एकीकृत र सही सूचना दिनु आवश्यक रहेको बताए। उनले नेपालको शिक्षाका राम्रा पक्षलाई पनि अन्तर्राष्ट्रियकरण गराउन आग्रह गरे।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबीचको सहकार्य र सूचना आदान प्रदानमा वेबसाइट नयाँ पहल हुने विश्वास व्यक्त गरे।
त्रिविका पूर्वउपकुलपतिहरु डा कमलकृष्ण जोशी र त्रिविका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँले उच्चशिक्षाका क्षेत्रमा सूचनाको पहुँच वृद्धिका लागि नयाँ काम थालनी भएकामा शुभेच्छ व्यक्त गरे।
उच्चमाध्यमिक तथा शिक्षालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउनेका साथै विदेशी विद्यार्थी नेपाली विश्वविद्यालयमा पनि ल्याउने गरी काम गर्नुपर्ने बताए।
गैह्रआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसीले कोभिड–१९ पछि बेरोजगारीको स्थितिमा विद्यार्थी र रोजगारी खोजिरहेका युवाका लागि नयाँ पोर्टल उपयुक्त हुने बताए।