
काठमाडौँ – विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।
विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो।
यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका थिए।
मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।
विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुईतिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ।
यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचारसंहिता बनाएर विधि पद्धति बमोजिम तयारी गरेको हो।
मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।