
सुनिएका धेरैमध्ये एउटा कथा अनुसार,
मृत्युको उपमा ‘यमराज’ आफ्नी बहिनी यमुनाको घरमा जान्छन्। आफूमात्र जाँदैनन्, आफ्ना दूतहरु पनि साथ लान्छन्। बहिनीको घरमा पाँच दिन बस्छन्। यमुनाले उनको खुब सेवासत्कार गर्छिन्। यही पाँच दिनको समयलाई यमपञ्चक भनेर बुझिन्छ।
पाचौँ दिन जब बहिनीले दाजूलाई टिका लगाएर मेवा मिस्टान्न भोजन गराउँछिन् तब यमराज प्रसन्न हुन्छन् । अनि बहिनीलाई ‘जे मन लाग्छ वर माग’ भन्छन्। यमुनाले आफ्नो दाजुसँग वर्षमा एक पल्ट टिका लगाउन आउनुपर्छ भनेर वाचा माग्छिन्। अनि आफ्नो दाजुको दिर्घायू, सुस्वास्थ्य र कार्यसफलताको कामना गर्छिन्।
हजूरआमाले कथा सुनाउँदा दाजुभाइ र दिदीबहिनीको स्नेहको गहिराइ बुझाउँथे। अरु दिन झगडा नै परे पनि भाइटिकामा दाजुबहिनी र दिदीभाइको स्नेह फरक रुपमा पोखिन्छ। अझ उमेर पाको हुँदै जाँदा एकले अर्कालाई भेट्न पाउँदाको खुसी छुट्टै, त्यसैले तिहार दाजुभाइ दिदीबहिनीका लागि बिशेष बन्छ।
चर्चित गीत ‘आयो तिहार दिदीभाइको माया बोकी आयो’ ले पनि यही कुरालाई पुष्टि गर्छ।
तर,
महेश्वर ओझाको भाइटिकामा यो गीतको मर्म मिलेन। किनकि उनी भाइटिका दिदीको हातबाट हैन, भाइको हातबाट लगाउने गर्छन्। आफूसँग भएको खानेकुरा साटासाट गर्छन्।
‘मलाई मेरो भाई चन्द्रदीप जोशीले टिका लगाइदिन्छन्। म उनको दाइ भएँ नि त!’ ओझा भन्छन्, ‘तीन वर्षजति भयो हामीले भाइभाइ टीका लगाउन थालेको।’
तीन दाजुभाइमा कान्छा छोरा हुन् महेश्वर!
हुर्कँदै गर्दा भाइटीकामा उनको मनमा कहिले चिसो पसेन। किनकि काकाको छोरी, मामाको छोरी जसले भए पनि निधार खाली पारिदिने थिएनन्। धनगढीबाट उनी जब करियर बनाउनको लागि काठमाडौँ आए, तब हरेक वर्ष घर जान पाइएन।
‘१२ वर्ष भयो काठमाडौँ आएको। हामी बाहिर जाँदैनौँ। रमाइलो नै गर्ने त हो नि!’ उनी भन्छन्, ‘सम्बन्ध भन्ने कुरा नयाँ बनाएपछि कहिलेकाहिँ नराम्रो हुन सक्छ। त्यो हुनुभन्दा आफूसँग जे छ, त्यसैमा रमाउने हो नि त!’ झन् यो वर्ष कोरोनाको महामारी छ।
उनले बुझेको सम्बन्ध मनबाट जोडिएको हुनुपर्छ। दाजुभाइ नभएकाहरुको लागि टिका लगाउनको लागि प्रख्यात ‘रानीपोखरी’ मा उनी जाँदैनन्, ‘एक दिनमा गएर, बहिनी बनाएर कसरी आशिर्वाद लिने त ?’ उनी भन्छन्, ‘हामी पनि मिलेको बेलामा दिदीबहिनीसँग नै लगाउँछौ, हुनेले गर्ने हो। अब सक्नले घोडा चढे भनेर हामी धुरी चढ्न भएन।’ कतिपय अवस्थामा सम्बन्ध निर्वाह गर्न गाह्रो हुन्छ, बनाएर बिगार्नुभन्दा भएको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने उनको मान्यता छ।
ओझाले भाइटिका लगाउने चन्द्रदीप फूपूका छोरा हुन्। उनी पनि एक्लो सन्तान। दाजुभाइ भएर पनि साथीजस्तो सम्बन्ध छ। काठमाडौँमा पनि नजिकै बस्छन्। ओझा युनिग्लोब कलेजको ‘फाइन्यान्स’ हेर्छन्। उनको भाइटिका लगाउने भाइ ‘सिभिल इन्जिनियर’ हुन्। भाइ २७ वर्षका भए, उनी ३१ वर्षका।
भाइटिकाको चलन अनुसार दिदीले भाइलाई पहिला टिका लगाइदिने चलन छ। महेश्वर र चन्द्रदीपको टिकामा भने दाइ दिदीको रोलमा हुन्छन्। उनीहरु यो चलनलाई सकेसम्म जीवनभर लैजान चाहन्छन्।