
नेपालगञ्ज- रोजगारीका लागि भारत जाने नेपालीको नेपालगञ्ज नाकामा लर्को लागेको छ। चाडबाड सकिएसँगै नेपालीहरु कामका लागि भारत जान निस्किेका छन् ।
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला नेपालगञ्ज नाका हुँदै भारततिर गइरहेका छन् । सरकारले नाका खुल्ला नगरेपनि भारतमा काम गर्न जाने अधिकांश नेपालीसँग आधार कार्ड रहेकाले प्रहरीले भारत जान दिइरहेको छ ।
ठूलो संख्याका नेपाली भारत जान थालेकाले नेपालगञ्ज नाकामा लर्को नै लागेको छ । चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले नेपालगञ्ज नाकामा भीड नै लाग्ने गरेको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक एक हजार हाराहारीका नेपाली भारत गइरहेको जानकारी दिए । भारत जाने नेपालीको संख्या धेरै भएकाले नाकामा प्रहरीलाई इन्ट्री गर्न धौधौ भइरहेको छ ।
कर्णाली प्रदेशका रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानका मानिसहरु यतिबेला रोजगारीका लागि भारत गइरहेका छन् । भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने नेपालीको संख्या बढेको जमुनाहा प्रहरीका इन्चार्ज गिरीको भनाई छ ।
चैत्रमा कोरोना कहरसँगै नेपालीहरु घर फर्किएका थिए । त्यतिबेला घर नफर्किएका नेपालीहरु दशै र तिहारको मुखमा घर आएका थिए । ती नेपालीहरु पुनः भारत फर्किन थालेका छन्।
आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने गर्दछन्। मौसमी कामका लागि भारत जानेहरु खेती गर्ने र चाडबाड मनाउन घर फर्किने गर्दछन् । अरु बेला भारतमा काम गर्छन्।