
काठमाडौँ – अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ ।
कोरोना संक्रमणको जोखिकाबिच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाब लिएको हो ।
मंगलबार टिमका सदस्य, फिजियोथेरपिस्ट र प्रशिक्षक गरि १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि मंगलबार नै स्वाब लिइएको छ । सबैको पीसीआर परीक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको हो ।
बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । कोरोना भाइरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो ।
प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनेछन् । बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरह भेशवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ ।
यस्तै सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ ।
यसैगरी राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।