
काठमाडौँ – नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्काविरुद्ध आरोप्रत्यारोको सिलसिला अगाडि बढाउने क्रममा दुई प्रस्ताव सचिवालयमा दर्ता गरेपछि नेकपाको भविष्यबारे अनेक अड्कलबाजी सुरु भएका छन्।
सम्भवत: सर्वाधिक बहस पनि यसै विषय भइरहेको छ। प्रचण्ड पक्षले दुवै प्रस्तावमाथि सचिवालय, स्थायी कमिटि हुँदै केन्द्रीय कमिटि बैठकसम्म छलफल गरेर ठोष निर्णय लिनुपर्ने अडानमा छ।
तर ओली पक्षका नेता सुवास नेम्वाङले पार्टीलाई एक ढिक्का बनाउन हालसम्म सचिवालय बैठकमा पेश भएका दस्ताबेजलाई पार्टीको सम्पत्ति बनाएर पुस्तकालयमा राखिदिने र यी सबैका आधारमा पार्टीलाई एक ढिक्का बनाएर लैजान दुई अध्यक्षले अर्को साझा प्रस्ताव ल्याउनुको विकल्प नभएको सुनाए।
उनले सोमबार देश सञ्चारसँग भने, ‘पार्टीलाई बचाउन र एक ढिक्का बनाउन हालसम्म आएका सबै दस्ताबेजलाई पुस्तकालयमा थन्काएर हालसम्मका सहमति, बहस र निर्णयका आधारमा दुवै अध्यक्षले साझा प्रस्ताव कमिटि बैठकहरुमा लैजानुको विकल्प छैन। मैले दिइरहेको सुझाव पनि यही हो।’