
सिमकोट–सिमकोट विमानस्थलको कार्यालय प्रमुख बस्ने क्वाटरमा बिहीवार विद्युत सर्ट भएर आगलागी हुँदा भवनमा पूर्ण क्षति भएको छ। बिहान साढे चार बजे एक्कासी क्वाटरमै रहेको स्टोर कोठामा आगो बलेको थियो।
बिहान अधँरैमा आगोको गन्ध आएपछि पल्लो कोठा रहेका कार्यालय प्रमुख विष्णु प्रसाद अधिकारी बाहिर आएर हेर्दा आगलागी भएको थाहा पाइएको थियो। प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीका अनुसार आगालगीको प्रकृति हेर्दा स्टोरमा विद्युत सर्ट भएको देखिन्छ। आगलागी भएको उक्त कोठा र अर्को कोठा पनि पुर्ण रुपमा नष्ट भएको सिमान स्थलको फायर शाखाका बरिष्ट सहायक शिवराम धितालले बताए ।
छ वटा कोठा, दुई वटा शौचालय र एउटा बरण्डा भएको भवन पुर्ण रुपमा काम नलाग्ने भएको उनले बताए । आगलागी सुरु भएको कोठामा कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री पनि नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ ।
भवनमा पचास प्रतिशत क्षेत्र पुगेको छ । आगलागीबाट अन्य कर्मचारी कसैलाई केही नभए पनि एक जना कार्यालय सहयोगी हातमा चोट लागेको छ । आगोलाई करिब तीन घण्टाको प्रयास पछि नियन्त्रणमा लिईएको थियो ।
आगलागी नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बजारवासी, सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६का बासिन्दा पुगेका थिए । आगालागीको पूर्ण क्षति विवरण आउन बाँकी छ । सिमकोट बजारमा प्रहरीले माईकिङ गरेर सवसाधारणलाई आगो नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो ।