दाङ-घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी हेमराज गन्धर्ब र उनका साथीहरु बिहीबार लमहीको सडक किनारमा सारंगी र मादलको तालमा गीत गाउदै थिए। सारंगीको धुन र मादलको आवाजले सडक भएर आवत जावत गर्नेहरुको ध्यान तान्यो।
मायाँ प्रेम र दोहोरी गित गाउने हेमराज र उनका साथीहरु आज भोलि भने सचेतना मुलक गीत गाउन बढी रुचाउने गर्छन्।
‘एउटै घरमा नखेलौं जुहारी
छोरी समान मानौं है बुहारी
जनता अनि प्रहरी दाजु भाई
सुरक्षित बनाउ है समाजलाई’
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। यो अवधिमा धेरै खालका औपचारिक-अनौपचारीक कार्यक्रमहरु गरिए । तर, प्रहरीले भने रचनात्मक अभियान मार्फत लैंगिक हिंसा विरुद्धको अभियानको क्रममा जनचेतना फैलाउन थालेको हो। प्रहरीले थालेको यो अभियानलाई गन्धर्बहरुले समेत सहयोग गरेका छन् ।
घोराहीका हेमराज गन्धर्ब, राजेश गन्धर्ब र भरत गन्धर्ब जनचेतना मुलक गीत गाउदै गाउँ शहर पुग्ने गरेका छन् ।
गीत संगीतले मानिसको ध्यान छिट्टै तान्ने गर्छ । मानिसको रुची जेमा छ त्यही माध्यमको प्रयोग गरेर सन्देश प्रवाह गर्दा प्रभावकारी हुने गरेको छ । त्यही विकल्पको छनौट प्रहरीले गरेको हो ।
‘यही कुरा ठूलो औपचारिक कार्यक्रम गरेर भन्न सकिन्थ्यो । तर, त्यस्ता कार्यक्रममा गरिने भाषण सर्वसाधारणको लागि बुझ्न गाह्रो हुन्छ । त्यही भएर सर्वसाधारणकै शैलीमा गीत संगीतको माध्यमबाट सन्देश प्रवाह गर्न खोजेका हौं’वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरान मल्ले भने,‘लैंगिक हिंसा अन्त्यको लागी अझै पनि सचेतनाको खाँचो छ । कहाँ गएर न्याय पाईन्छ भन्ने सम्म थाहा नपाउने व्यक्तिहरु पनि हुनुहुन्छ । उहाँहरुलाई सन्देश दिन यो सैली अपनाएका हौं ।’
‘सबैभन्दा पीडित नारी छन्
के कारणले पछाडि पारिन्छन्
जनता अनि प्रहरी दाजु भाई
सुरक्षित बनाउ है समाजलाई’
सार्वजनिक ठाउँमा प्रहरीको सकृयतामा सन्देशमुलक कार्यक्रम भएपछि सर्वसाधारण पनि खुशी भएका छन्। प्रहरीको सकृयतामा फरक शैलीमा कार्यक्रम भएपछि सरिता कुँवर खुशी भइन्।
‘चेलीबेटी हिंसा नहोस, हिंसा गर्नुहुदैन भन्ने राम्रो संग थाहा भयो’उनले भनिन्,‘घर परिवारमा शान्ती कायम गर्न सबै सदस्यलाई सम्मान जनक व्यवहारको खाँचो पर्छ । घर, समाज र राष्ट्रनै शान्त बनाउनुपर्छ।’
प्रहरीले थालेको अभियानलाई सामुदायीक सेवा केन्द्रले समेत सहयोग गरेको छ । नागरिक प्रहरीको बिचमा समन्वय गरेर सँगसँगै अभियान थालिएको छ।