
काठमाडौँ– भविष्यको लागि जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार कार्यक्रम मंगलबारदेखि शुरु हुने भएको छ।
स्मार्ट वास सोलुसन्स र कोरिषको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्सको संयुक्त आयोजनामा मंसिर २३ गते मंगलबारदेखि २६ गते शुक्रबारसम्म जल सुरक्षा सम्बन्धी वेबिनार कार्यक्रम हुने भएको हो।
वेबिनारमा नेपाल र कोरियाका अगुवा नीति निर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक र अभियान्ताहरुले जल सुरक्षाको भविष्य, जलवायु परिवर्तन र जल सुरक्षा, जल सुरक्षाको निमित्त सूचना, सञ्चार र प्रविधि तथा पानी आपूर्ति पद्धतिको उन्नत प्रविधिका विषयमा तयार पारिएका १५ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्।
जलवायु परिवर्तनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कम गर्न अपनाउनु पर्ने उपाय, पानीका प्राकृतिक स्रोतको संरक्षण लगायतका विषयमा छलफल हुने स्मार्टवास सोलुसन्सका अध्यक्ष रामदीप साहले बताए।
स्मार्टवास सोलुसन्सले खानेपानी र पानीजन्य सरसफाइको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकुल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ।