
दाङ–राप्ती गाउँपालिका वडा नं. ८ बिजौरी निवासी विद्या चौधरीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विवेक चौधरीले उनलाई उपचारको लागि लमही अस्पताल पुर्याए ।
आमा र गर्भमा रहेको बच्चाको जाँच भयो । बच्चा ठूलो हुँदा प्राकृतिक रुपमा आमाले जन्म दिन नसक्ने अवस्था भएपछि सल्यक्रिया गर्नुपर्यो । डाक्टर सत्यप्रसाद वैद्यको नेत्वमा पाँच जनाको स्वास्थ्यकर्मीकाे टाेली सल्यक्रियाका लागि तयार भयाे। आधा घण्टामा सफल सल्यक्रिया भयाे।
लमही अस्पतालमा सल्यक्रिया मार्फत सुत्केरी सेवा सुरु भइ निःशुल्क प्रसूति सेवा पाएपछि आमा र तीनका परिवारका सदस्य खुशी भए । यस भन्दा अघि लमही अस्पतालमा सल्यक्रिया सेवा थिएन ।
पहिलो पटक सल्यक्रिया सेवा प्रसूति सेवाबाट सुरु गरिएको लमही अस्पताल विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए । ‘हामीले अस्पतालको सेवालाई सुधार गरेका छौँ’ उनले भने, ‘सेवाहरु अपग्रेड हुँदैछन् ।’
गत कार्तिक ७ गते बाट लमही अस्पतालमा सल्यक्रिया सेवा सुरु भएको थियो ।
यस अघी लमही अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालनमा थियो । जटिल प्रकारको सेवा थिएन । धेरै आमाहरु बुटवल या नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । तर, पछिल्लो समय लमही अस्पतालमा सल्यक्रिया कक्ष स्थापना गरेर सल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन गरिएको हो ।
‘सल्यक्रियाबाट प्रसूति सेवा यही पाउने भएपछि धेरै आमाहरुलाई सजिलो हुने छ । जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ’डाक्टर वैद्यले भने,‘यो सेवालाई नियमित बनाउन सबैले ध्यान दिनुपर्छ ।’
लमही नगरपालिकाको लमही अस्पताल, सोनपुर स्वास्थ्य चौकी र सतवरीया स्वास्थ्य चौकीबाट २०७५/०७६ मा ५२१ आमाले सुत्केरी सेवा लिएका छन् । ०७६/०७७ मा ४१६ जना आमाले र ०७७/०७८ को साउन महिनामा ४६ जना आमाले वर्थिङ्ग सेन्टरबाट सुत्केरी सेवा लिएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिए ।
राजपुर गाउँपालिको राजपुर र बेला स्वास्थ्य चौकी गरी दुई स्थानमा वर्थिङ्ग सेन्टर छ । आर्थिक वर्ष २०७६/०७७ मा ३२२ जनाले सुत्केरी सेवा लिएका छन् । ६५ जना आमालाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको र १० जना आमाले सल्यकृया मार्फत बच्चा जन्माएको स्वास्थ्य शाखा संयोजक कमल रोकायले बताए ।
राप्ती गाउँपालिकाले लालमटीया र सिसहनिया स्वास्थ्य चौकीबाट सुत्केरी सेवा दिँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६३३ जना आमाले सुत्केरी सेवा लिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
गढवा गाउँपालिकाले गढवा, गंगापरस्पुर, गोवरडिहा र कोइलावास स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरबाट सुत्केरी सेवा दिइँदै आएको छ ।
कस्तो अवस्थामा गरिन्छ सल्यक्रिया?
स्वास्थ्यकर्मीको जोड नर्मल डेलिभरी नै हो । तर, केही यस्ता अवस्था हुन्छन् जसले सल्यक्रिया मार्फत बच्चा जन्माउनुपर्ने अवस्था आइपर्छन्। डाक्टर सत्यप्रसाद वैद्यका अनुसार बढीमा ६ पटक सम्म औषधि दिएर पनि पाठेघरको मुख नखुलेमा, बच्चा तेस्रो बस्यो भने, सालनाल तल परेमा, बच्चाको टाउँको र खुट्टा ननिस्कीएर हात निस्कीयो भने सल्कृया गर्नुपर्ने हुन्छ ।
अरु कुनै कारणले आमा र बच्चाको स्वास्थ्य खतरामा परेमा सल्यक्रिया गरेर बच्चालाई जन्मदिन सक्ने अवस्था आउने डाक्टर वैद्यले बताए ।