
तनहुँ– तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ।
चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कुल ३० वटा पोखरी निर्माण गरिने भएको हो।
मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उनले बताए।
खोल्सा–खोल्सीमा पानीको स्रोत नहुनु र कहीँकतै पानीको स्रोत भएका स्थानबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथा पशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको छ।
उनले भने, ‘भानुभक्तको समयमा घाँसीले कुवाँ खनाए भने अब वन्यजन्तुका लागि मूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको छ।’
मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखापरेका मानव तथा पशुमाथि आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।
मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिको लागि कलिलो घाँस (घाँसेमैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको छ।
‘सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्क रुपमा निर्माण गर्नका लागि आग्रह गरेका छौँ,’ उनले भने, ‘पोखरी खन्छौँ भनी प्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भए नभएको अनुगमन गर्ने योजना बनाएका छौँ।’
जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकास्थित वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो। डिभिजन वन कार्यालयबाट ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ।
उक्त क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग र बँदेल नगण्य देखिएका छन्। चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालो बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।