
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा सारिएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक बालुवाटारमा सारिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल समूहका नेताले बताएका छन् ।
सुरक्षाको कारणले बैठक तोकिएकै समयमा धुम्बाराही नभई बालुवाटारमा गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली अनुपस्थित भएका थिए । त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो ।
एक हप्ताको बिचमा विवाद समाधानको प्रयास स्वरुप अनौपचारिक छलफल भए पनि त्यसले ठोस प्रगति भने गर्न सकेको छैन ।