
जनकपुरधाम– तलब भत्ता नपाएपछि कर्मचारी तथा जनप्रतिनिधिहरुले सबैला नगरपालिकामा गरेको तालाबन्दी दुई दिनदेखि जारी रहेको छ।
धनुषाको सबैला नगरपालिकामा बाँकी रहेको तलब तथा सामाजिक सुरक्षा भत्ता यथाशिघ्र उपलब्ध गराउन माग गर्दै कर्मचारीहरु तथा असन्तुष्ट जनप्रतिनिधिहरुले तालाबन्दी गरेका थिए।
केही वडाको समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको, करारमा कार्यरत कर्मचारीहरुको लगभग एक वर्षदेखिको तलब बाँकी रहेको कर्मचारीहरुको भनाई छ।
नगरप्रमुखको लापरवाहीका कारण वृद्धवृद्धा, अपांग तथा एकल महिलाको समाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बाँकी रहेको र आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने कार्यपालिका सदस्य राजु गुप्ताले बताए।
नगर प्रमुख विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरुको तलब बाँकी राखेर त्यो रकम दुरुपयोग गर्दै आएको उनले आरोप लगाएका छन्।
दुई वर्षअघि टेण्डर भइसकेका कयौँ विकास निर्माणको काम प्रमुख साहको मनपर्दीका कारण अवरुद्ध रहेको उनले बताए। गुप्ताका अनुसार प्रमुख साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीहरुको तलब बाँकी रहेको स्वीकार गर्दै चाँडै नै समस्या समाधान गरिने बताए।
बजेट शीर्षकमा गल्ती भएका कारण कर्मचारीहरुको तलब उपलब्ध गराउन नसकिएको नगरप्रमुख साहले स्वीकार गरे। उनले वडा सचिवहरुले विगतको भरपाई समयमै नबुझाएका सामाजिक सुरक्षा भत्ताको रकम निकासा हुन नसकेको बताए।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुरले जनप्रतिनिधिहरुको आपसी विवादका कारण नगरापालिकामा तालाबन्दी गरिएको बताए।
उनका अनुसार जनप्रतिनिधिहरुले आ-आफ्नो कोटाबाट करारमा कर्मचारी भर्ना गराएकोमा म्याद थप लगायतका कागजी प्रक्रिया पूरा नभएका कारण तलब बाँकी रहेको बताए।