
मुस्ताङ (घरपझोङ) – मुस्ताङ नेपालको सर्वप्रिय पर्यटकीय गन्तव्यमा पर्छ । घुम्न रुचाउने नेपाली तथा विदेशीहरुका लागि मुस्ताङ्ग क्षेत्र पहिलो रोजाइका सीमित स्थानमा आउँछ ।
सिजनमा यो क्षेत्र पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो लर्को हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण यो वर्ष मुस्ताङ्ग क्षेत्रको पर्यटकीय गतिविधि अरु क्षेत्रको जस्तै गम्भीर रुपमा प्रभावित भयो । यहाँका हिमाल, खोला, बगरहरु, नाङ्गा पहाडहरु, बेसीमा बसेका बस्तीहरु र त्यहाँको रहनसहन हेर्ने धेरैले पाएनन् यो अवधिमा ।
घरपझोङ गाउँपालिकाको य्हारुझो भ्यू पोइन्टबाट जोमसोम र आसपासको क्षेत्रको सुन्दर दृष्यावलोकन गर्न पाइन्छ।
स्थानीयले मुसे डाँडाका रुपमा चिन्दै आएको डाँडाको टुप्पोमा रहेको य्हारुझो भ्यू पोइन्टबाट विभिन्न धार बनेर बग्दै गरेको नदी, पहाडहरु, बगर, बस्तीहरु र अग्ला हिमालहरु देखिन्छ । सो य्हारुझो भ्यू पोइन्ट समुद्र सतहबाट ३७ सय ५० मिटरको उचाईमा छ ।
जोमसोमबाट करिब साढे तीन घण्टाको पैदल यात्रापछि पुगिने य्हारुझो भ्यू पोइन्टबाट सूर्योदयको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट नीलगिरी, धौलागिरी, तिलिचो पिक, स्याङ्ग हिमाल तथा टुकुचे पिक देखिन्छ । जोमसोम, मार्फा, फाल्याक, कागबेनी तथा माथिल्लो मुस्ताङका केही गाउँहरु पनि देख्न सकिन्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले य्हारुझो भ्यू पोइन्टबाट देखिएको मुस्ताङको सुन्दरता केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।