
२०५७ सालतिर सन्तोष साह सिरहाको चोकचोकमा पोलिथिन झोला र पाउरोटी बेच्दै हिँड्थे। त्यो बेला सन्तोषका कान्छा दाइ दिलीपकुमार साह भारतमा भाँडा माझेर राम्रो कमाइ गर्दै थिए। भाइले दैनिक २० देखि २५ रुपैयाँ कमाउन पाउरोटी र प्लास्टिकको झोला बेच्छ भन्ने थाहा पाएपछि उनले सन्तोषलाई भाँडा माझ्ने काम गर्न भारत बोलाए।
आज त्यही भाइ बिबिसी मास्टरसेफ प्रोफेसनलको अन्तिम तीनमा पुगेका छन्। सन्तोषको यो सफलताले सन्तोषलाई जस्तै प्रफुल्लित उनको दाजुलाई पनि बनाएको छ। सन्तोषलाई ‘पाक सीप’ को प्रेरणा दिने उनका दाजु दिलीप नै हुन्।
दिलीप नोस्टाल्जिक भए, ‘सिन्धुलीमा हाम्रो जेठो दाइको व्यवसाय थियो। म त्यहीँ काम गर्दागदै भारत पसेँ। सिन्धुलीको कमला माध्यमिक विद्यालयमा ८ कक्षा पढ्दापढ्दै मेरो पढाइ छुट्यो। भाइ भने आमासँगै सिरहामा थियो। सन्तोष कर्जहाको श्रीजनसेवा माध्यमिक विद्यालयमा पढिरहेको थियो। काम गर्दै पढ्दा गाह्रो भयो। २०५८ सालमा उसले एसएलसी दिँदा तीन विषय लागेछ। पछि फेरि उसले उत्तीर्ण गर्यो।
यही बीचमा मैले उसलाई गुजरातमा भाडा माझ्न बोलाएँ। भाडा माझ्ने मान्छेले भाइलाई के बनाउँथ्यो र!’
भारत गएपछि दिलीप भाडा माझ्नेबाट ‘वेटर’ भए, अनि कुक। त्यसपछि भारतको नाम कमाएका होटल हुँदै विदेशका केही होटलमा काम गर्ने अवसर जुर्यो उनलाई। अहिले उनी कटारीचोक मिर्चैयामा आफ्नै ‘होटल ग्राण्ड मिर्चैया प्रालि’ सञ्चालन गरेर बसिरहेका छन्।

आमासँग दिलीप साह।
दिलीपको जस्तै उनका भाइको यात्रा रह्यो, ‘सुरुमा ‘वेटर’। पाँच तारे होटलमा १० वर्षसम्म अनुभव बटुले। यही अवधिमा उनी पकाउने विज्ञ बनिसकेका थिए।
‘१५ वर्षको उमेरमा भारत गयो। सुरुवाती दिनमा उसले भारतीय ९ सय रुपैयाँ कमाउनको लागि भाँडा माझ्थ्यो। आफ्नो कमाइमा खुसी थियो तर कुकले धेरै पैसा कमाउँछन् भन्ने उसले थाहा पायो,’ दिलीपले भने, ‘एकदिन उसले सेफको डिपार्टमेन्टमा गएर आफूलाई पनि त्यही काम गराउन आग्रह गरेछ। उसको आग्रह स्वीकार भयो।’
दिलीपका अनुसार त्यसपछि उनी अर्को होटलमा प्रशिक्षणको लागि गए। त्यहाँ उनले खाना पकाउनुको साथै व्यवस्थापनको काम पनि सिके। उनको लक्ष्य अंग्रेजी सिक्नु थियो ताकि उनी ठूलो पद सम्हाल्नसक्ने हुन् ।
भारतमा गएपछि उनले रोकिएको पढाइलाई निरन्तरता दिएका थिए, होटल व्यवस्थापन पढेका थिए।
कुकको काम आएपछि उनले समय निकालेर अंग्रेजी पढे। धेरै होटलमा अन्तवार्ता दिए र कार्यकारी सेफको पद पाए।
केही अन्तर्वार्तामा सन्तोषले भनेका छन्, ‘७ वर्षमा उनको नेतृत्वमा ७० जनाले काम गरे र सन् २००६/७ मा उनीहरुको तलब ४० हजार थियो। त्यसपछि उनले आफैँ राम्रो अवसरको लागि विदेशमा काम गर्ने प्रयास गरे।’
एकपल्ट यूरोपियन देश पुगेका सन्तोष भारत फिर्ता भएका थिए, तर उनको भारतबाहिर काम गर्ने रहर मरेको थिएन। गुजरातका होटलका एक मालिकले उनलाई लण्डनमा काम गर्ने अवसर दिए। उनी राजी भए र नेपाल आए, आमाको आशिर्वाद लिएर आफ्नो ठूलो सपना पूरा गर्न लण्डन पुगे। सुरुमा उनलाई काम गरेको पैसा दिइएन बरु अझ धेरै घण्टा काम गर्नुपर्यो।

सन्तोष साह
त्यहाँ रहँदारहँदै उनले बिबिसी मास्टरसेफ प्रोफेसनलमा भाग लिए। उनले नेपाली खानालाई कार्यक्रममा प्रस्तुत गरे। अहिले उनी फाइनलमा पुगका छन्।
बिहीबार सबेरै बिबिसी मास्टरसेफ प्रोफेसनलको फाइनलिस्टको घोषणा भयो। लण्डनमा कार्यक्रममा नजिता आउनेबित्तिकै सन्तोष साहले आफ्नो फेसबुकमा अपडेट गरिहाले, ‘फाइनल – ३।’
उनको यो नतिजा धेरैको लागि खुसीको खबर थियो। त्यति नै प्रतीक्षित पनि।
सिरहाका सन्तोष साह बिबिसी मास्टरसेफ प्रोफेसनलको प्रतिस्पर्धी भएदेखि नै नेपालीको सम्पूर्ण ध्यान उनको क्रियाकलापमा केन्द्रित भएको छ।
बेलायतको भान्छामा नेपाली मौलिक खानालाई पस्किएर निर्णायक मण्डलको मन जितेका सन्तोषको कदमको एकएक ख्याल भइरहेको छ। नेपाली भादगाउँले टोपी लगाएर मास्टरसेफ प्रोफेसनलको लहरमा उभिएका सन्तोषलाई ख्याल गर्ने जमातमा उनका दाजु पनि छन्।

सन्तोष साहसँग दाइ दिलीप।
‘लाइनेस रिसोर्टमा म सुपरभाइजर हुँदा उसलाई भाँडा माझ्न लगेको थिएँ। हाम्रो गड फादर थिएनन्, मैले जे जे आइपर्यो, गर्दै जाँदा सुपरभाइजर भएको थिएँ। ऊ पनि मेरै बाटो हिँड्यो,’ दिलीप भन्छन्, ‘उसले कामसँगै पढाइलाई लग्यो। म खुसी छु।’
दिलीप आफू ८ वर्ष भारत बसेपछि भाइलाई लगेका थिए। गुजरातमा दिलीपको नाम पनि थियो। सन्तोष त्यहाँ काम गर्दा हरेक अपडेट दिलीपसम्म पग्थ्यो। त्यसैले सन्तोष दिलीपको छत्रछायाँमा बसिरहे। बेलामा बेलामा सम्झाउँदै पनि गए।
मास्टरसेफमा जाने कुरा दिलीपलाई थाहा थिएन।
जब सन्तोष लण्डन गए, त्यसपछि दिलीपसँग पहिलाको जस्तो नजिकपन रहेन। समय र परिस्थितिले पनि प्रभाव पार्यो। कहिलेकाहिँ कुरा गर्दा ‘दाइ तपाईँको लागि सरप्राइज छ’ भन्थे।’
‘मैले सोचेँ, ‘विवाह गर्न आँट्यो कि क्या हो ?’ ३४ वर्षको भयो, बेला भएको हो,’ दिलीप भन्छन्, ‘लकडाउनमा उसले बल्ल भन्यो म बिबिसी मास्टरसेफ प्रोफेसनलमा छानिएको छु।’
सन्तोषका जेठा दाइ स्वर्गीय भईसकेका छन्, माइला दाइ विदेशमा बस्छन्, साँइला दाई सिरहामा नै छन् र दिलीप आफैँ व्यवसायी। दिलीपलाई उनको सर्कलले डिके साह भनेर चिन्छ। दुई दिदीको विवाह भइसकेको छ।
सन्तोषकी ९५ वर्षकी आमा छन्। सुमारीदेवी शाहका लागि सन्तोष पहिला पनि हिरो थिए, अहिले पनि हिरो छन्।

दिलीप साह।
नतिजा के हुन्छ थाहा छैन, एक तहमा दिलीपका लागि सन्तोष विजयी भइसके। अहिले भाइको प्रगतिलाई नियाल्दै दाइ दिलीप गर्विलो महसुस गरिरहेका छन्। भाइको मिजासिलो अनि घमण्ड नगर्ने स्वाभाव र हँसिलो अनुहार सम्झँदै सोच्छन्, ‘त्यो बेला मैले ‘जाउँ हिँड भाइ भाडा माझ्न’ नभनेको भए?’