
काठमाडौँ– नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै संसद विघटन गर्ने कार्य सही भएको दावी गरेका छन्।
मुख्यमन्त्री पोखरेलले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुमार्फत प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको दाबी गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो।’
सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्याउन सक्ने हुँदा त्यसतर्फ गम्भीर बन्नसमेत उनले आग्रह गरेका छन्।
उनी अगाडि लेख्छन्, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ। चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ। सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्याउन सक्छ। गम्भीर र जिम्मेवार बनौँ।’