
काठमाडौँ – काठमाडौँको नागढुंगाबाट धादिङ्गको सिस्नेखोला जोडने सुरुङ्गमार्गको निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिना पछि सुरुङ्ग खन्ने काम सुरु भएको हो ।
सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङ्गमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ्ग खन्ने काम ढिलो गरी मंगलबारदेखि सुरु भएको छ ।
२ दशमलव ६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन २०२२ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरे पनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य सुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।
आयोजना स्थलमा सुरुङ्ग खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम सुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताए ।
जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ ।
आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाई रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।