
बेस्वादिलो हुन गयो दाल कस्तो कस्तो
उग्लियो भात खाने थाल कस्तो कस्तो।।
तीन वर्षमै चिलिम भयो पाँच वर्षको दाना
हान्यो सदन खड्गले बबाल कस्तो कस्तो।।
दुर्घटना तय थियो उड्दा धुवाँ जहाज भित्र
दुवै पाइलट उचाल्थे मसाल कस्तो कस्तो।
गाडी नभए सर्दैनथ्यो पाइला कतै पनि
बाटामा भेटिए अरे कमाल कस्तो कस्तो।।
निदाइन्थ्यो बैठकमा जागिर सांसद सही
डुकुलण्ठु भइयो अब बेहाल कस्तो कस्तो।।
बन्द व्यापार गरे हुन्थ्यो चुनाउ लड्नु भन्दा
खायौ भनि घरकी गर्छे सवाल कस्तो कस्तो।।
‘व्यवस्था’ त खासा थियो खान बाँडी चुँडी
पाएकै थिए दौँतरीले माल कस्तो कस्तो।।