
जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको अगुवा कार्यकर्ता भेला जनकपुरधाममा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रिय सर्कुलर अनुसार आज अगुवा कार्यकर्ताहरुको भेला सुरु गरिएको हो।
दाहाल–नेपाल समूहले प्रदेश २ स्थित जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमाथि दावी गर्दै सोही कार्यालयमा भेलाको आयोजना गरेको हो।
अन्य ठाउँमा पार्टी कार्यालय कब्जा गर्ने विषयलाई लिएर विवाद चलिरहेको समयमा प्रदेश २ मा अहिलेसम्म त्यस्तो अवस्थाको सिर्जना नभएको प्रचण्ड–नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य श्रवण बरबरियाले दाबी गरे। प्रदेशमा ओली समूह कमजोर रहेकोले विवादको अवस्था सिर्जना नभएको र त्यस्तो अवस्था नआउने प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुको भनाइ छ।
प्रदेश २ बाट नेकपामा ७० जना केन्द्रीय सदस्य रहेकोमा ४२ जना केन्द्रीय सदस्य प्रचण्ड–नेपाल पक्षमा रहेको बरबरीयाले दावी गरे। नेकपाको एक तिहाईको एक भाग मात्रै ओली समूहमा रहेकोले आफूहरुको स्थिति बलियो रहेको उनले बताए। केन्द्रमा समेत प्रचण्ड–नेपाल पक्षमा ३ सय १५ जना केन्द्रीय सदस्य रहेकोले आफूहरु नै आधिकारिक नेकपा रहेको उनले बताए।
त्यस्तै नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेश समिति सदस्य झल्कु यादवले पार्टी जिल्ला तथा प्रदेशको दुबै पार्टी कार्यालय आफूहरुले उपभोग गर्ने बताए।
उनले भने, ‘प्रदेशमा हाम्रै बहुमत छ। त्यस्तै जिल्लामा १४ मध्ये ११ जना हाम्रै पक्षमा रहेकोले अधिकारिक रुपमा पार्टी कार्यालयमाथि हाम्रो दावी छ।’
धनुषामा तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय हाल नेकपाको जिल्ला कार्यालयको रुपमा रहेको छ भने तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय प्रदेश कार्यालयको रुपमा रहेको छ।