नम्रता श्रेष्ठको सफलताको कथा

‘किन्डर गार्टन’ शिक्षिकाको रोमाञ्चक मिस नेपाल यात्रा

+
-

सन् २०१६ को ‘मिस नेपाल’ मा उत्कृष्ट ५ बाट बाहिरिएपछि नम्रता श्रेष्ठलाई तारिफ गर्दै आफन्तले भनेका थिए, ‘यतिसम्म पुग्नु धेरै राम्रो कुरा हो।’ १९ वर्षकी थिइन् नम्रता। कलिलै उमेरमा टप ५ सम्म पुगेको अनुभव बटुल्नु उनका साथी अनि परिवारको लागि ठूलो कुरा नै थियो।

नोबेल एकेडेमी कलेजबाट भर्खरै व्यवस्थापनमा प्लस टु सकाएर स्नातकमा ‘सोसल वर्क’ पढ्न थालेकी थिइन् त्यो बेला । नम्रताले आफूमा भएका कमजोरी थाहा पाइन्। सानोमा बुनेको मिस नेपाल बन्ने सपनाको नजिक गएर फर्केकी उनमा सपना पूरा गरिछाड्ने साहस जिउँदै थियो।

‘म त्यो बेलामा सबैभन्दा सानो उमेरमा ‘मिस नेपाल’ बन्न चाहन्थे तर शीर्ष ५ बाट नै बाहिरिएँ,’ नम्रताले भनिन्, ‘मेरो रहर पूरा भएन र फेरि ४ वर्षपछि म यो प्रतियोगितामा आएँ।’

सन् २०१६ पछिको समय उनले आफ्नो व्यक्तित्व विकास गर्न धेरै मेहनत गरिन्, बोल्ने शैलीमा ध्यान दिइन, समसामयिक विषयमा जानकारी राखिराखिन्। यहीबीचमा उनि समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेकी थिइन् अनि विद्यालयमा पढाइ पनि रहेकी थिइन्। उनको व्यक्तिगत विकासमा ध्यान दिनु उनको एउटै लक्ष्य थियो ‘सन् २०२० को मिस नेपालमा सहभागी हुनु।’

‘चार वर्ष पछाडि यही प्लेटफर्ममा उभिनु मेरो लागि चुनौतीपूर्ण थियो। मनमा डर पनि, ‘टप ५’ सम्म नै पुग्दिन कि! तर मैले यति मेहनत गरेको थिए कि म पहिलाको भन्दा एक कदम अगाडि पुग्छु भन्ने आत्मविश्वास ममा थियो।’

श्रेष्ठले बिजेता घोषणा भएको क्षण सम्झँदै भनिन्, ‘मलाई अरु विधामा नाम घोषणा हुँदै गर्दा मैले अरु कुरा सोचिन, मैले सक्दो मेहनत गरेको छु, बाँकी भगवानको हातमा भनेर सोचेँ। सोच्दा सोच्दै नाम घोषणा भयो। म धेरै खुसी भएँ।’

उनले आफूले कस्तो प्रस्तुति दिए भनेर सोचिनन्, आफूले १०० प्रतिशत प्रयास गरे, मेहनतको फल पाइन्छ भन्ने उनलाई थाहा थियो। उनलाई आफ्नो नियत सही छ भन्नेमा विश्वस्थ थियो। बाँकी भाग्यमा छोडेकी थिइन्।

जिद्दीपन सँधै नराम्रो हुँदैन


श्रेष्ठ दुई पल्ट मिस नेपालमा सहभागी हुने कम सहभागी मध्येमा पर्छिन्। दोस्रो पटकको सहभागितामा सफल भएकी उनी आफूलाई भाग्यमानी ठान्छिन्। ‘भनिन्छ जिद्दी गर्नु हुँदैन, तर आफ्नो सपना पूरा गर्नको लागि जिद्दी गर्नु राम्रो हो,’ नम्रता भन्छिन्, ‘हो, सबै कुराको लागि दोस्रो चान्स हुँदैन, तर सपना पूरा गर्नको लागि प्रयास गर्न छोड्न हुन्न।’

दोस्रो पल्ट मिस नेपालमा सहभागी हुने समयमा उनले आफ्ना कम साथीलाई मात्र मिस नेपालमा जान लागेको र ‘मलाई सहयोग चाहिन्छ’ भनेर भनेकी थिइन्।

सपनामा फाइदा हेर्नु हुँदैन


नम्रताको प्रयासलाई नियाल्दा सहजै अनुमान लगाउन सकिन्छ ‘उनलाई जसरी पनि मिस नेपाल नै बन्नु थियो।

किन ?

‘सपनामा फाइदा हेर्न थालियो भने त्यो सपना हुँदैन। मेरो इच्छाइएको कुरा हो पूरा भयो भने म खुसी हुन्छु जीवनमा भन्ने थियो,’ उनी भन्छिन्, ‘सपना हो मेरो, अझ मिस वर्ल्ड बन्ने सपना हो। सन् २०११ मा थाहा पाएँ कि मिस वर्ल्डमा जान मिस नेपाल बन्नु पर्ने रहेछ।’

मिस नेपालको प्लेटफर्मलाई उनले अर्को रुपमा पनि लिएकी छन्। ‘म यो ताजको सहयोगले धेरै मानिसको जीवन परिवर्तन गर्न सक्छु।’

‘यो वर्ष पनि नभइदिएको भए ?’

‘मलाई सोच्न गाह्रो हुन्छ। जित्नैपर्छ भनेर आएकी थिएँ। सायद नभएको भए, सम्हाल्थेँ होला। मेरो लागि हैन रहेछ भनेर मन बुझाउँथे होला ।’ उनि आफूले आफूलाई बलियो बनाएकी थिइन् ताकि नतिजा जे आउँछ त्यो उनले स्वीकार्न सकून्।

विदेश जाने सल्लाह मानिनन्


नम्रतालाई सन् २०१६ मा सफल नभएपछि परिवार, आफन्तले विदेश जाने सल्लाह दिएका थिए। ‘म पढाइमा राम्रै थिएँ, घरबाट बाहिर जान सुझाव आइरहेको थियो। मैले ‘आइएल्स’ पनि गरेको थिएँ,’ उनले भनिन्, ‘बाहिर गएर आउँदा यहाँ मिस नेपाल छुट्छ भनेर गइन्।’

यो वर्षको अनुभव फरक


कोरोना महामारीको समयमा यो वर्ष प्रतियोगिता भयो। नम्रतालाई भने यो अनुभव पनि नौलो भयो । किनकि पहिलाको जस्तो साथीहरु सँगै बसेर प्रशिक्षण लिन पाइरहेका थिएनन्। तीन साता अनलाइनबाट कक्षा लिइयो भने बाँकीको दुई साता बन्दा प्रशिक्षणमा उनीहरु रहे।

‘अनलाइन भएपनि कक्षा कम्परमाइज भएन, हामी आफ्नै कम्फर्ट जोनमा बसेर तालिम लिइरहेका थियौँ। फाइदा के भयो भन्दा बन्द प्रशिक्षण लामो भएकोले साथीभाइलाई जान्ने मौका पाइयो ।’ श्रेष्ठले भनिन्, ‘हरेक चिजको राम्रो र नराम्रो पक्ष हुन्छ नि त !’

किन्डर गार्टन टिचर


स्नातक सक्काएपछि उनलाई काम गर्न मन लाग्यो। नैकापकी श्रेष्ठलाई त्यस्तो जागिर खान मन लाग्यो, जहाँ उनको व्यक्तित्व विकास होस् र समाजमा योगदान पनि। उनलाई सानासाना बालबालिकालाई पढाउन मन लाग्यो। त्यही बेलामा मन्टेश्वरी तालिममा सहभागी हुन पाइन्।

अनि जागिरको लागि अफर आयो। एक वर्षको अनुभवपछि उनले प्राइमरी तहका बालबालिकालाई पढाउन थालिन्। अहिले भने मिस नेपालमा आउनको लागि उनले विद्यालयमा पढाउन छोडेकी छन्।

शिक्षाको पछिल्लो अवस्थाको बारेमा कुरा गर्दै उनले कोभिडले धेरै क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको बेलामा बालबालिका समस्याको केन्द्रमा भएको बताइन्। उनले अहिलेको प्रविधिले बालबालिकाको शारीरिक स्वास्थ्यमा पनि प्रभाव पार्ने भएकोले त्यसलाई ख्याल गरिनुपर्ने बताइन्। यस्तै शिक्षाको पहुँच बाहिर भएका विद्यार्थीलाई सरकारले समेट्लाई केही प्रयास गर्नुपर्ने उनले बताइन्।

भविष्यमा के गर्छु भन्‍न अहिले चाँडै छ


धेरै मिस नेपाललाई सोधिन्छ, ‘भविष्यमा हिरोइन बन्‍न सोच छ ?’ मिस नेपालको क्राउन लगाइसकेपछि कलाकारितामा लागेका केही उदाहरणहरु छन्। मिस नेपाल निकिता चण्डक पनि यसको पछिल्लो उदाहरण हुन्।

नम्रता यसको जवाफ दिन अहिले धेरै चाँडै भएको बताउछिन्। ‘मलाई थाहा छैन, मेरो २ महिना पछाडिको तालिका के छ भनेर। अहिलेलाई मलाई मिस वर्ल्डमा केन्द्रित हुनु छ। एक वर्ष म अन्त ध्यान लैजान चाहन्न,’ उनले भनिन्, ‘मेरो लागि धेरै बाटोहरु हुनेछन्, म मिडिया क्षेत्रमा पनि जान सक्छु, पढाउन सक्छु, एनजीओमा काम गर्न पनि सक्छु होला। एउटै काम गरिराख्न पर्छ जस्तो लाग्दैन, एउटा जिन्दगी छ, धेरै कुराको अनुभव लिने नि। हामी लड्छौँ अनि फेरि उठ्न सक्छौँ।’

मिस वर्ल्डको तयारी के छ ?


मिस वर्ल्डको महत्वपूर्ण टाइटल ‘ब्युटी विथ द पर्पस’ जित्ने श्रेष्ठको लक्ष्य छ। यो उनले ठूलो जिम्मेवारीको रुपमा लिएकी छिन्। यस्तै टप मोडल, फास्ट ट्रयाक इभेन्ट्स लगायतमा राम्रो गरे अगाडि बढ्न सकिने भएकोले व्यक्तिगत रुपमा पनि अनुसन्धान गरिरहेको बताएकी छन्।

मिस नेपाल २०१८ र २०१९ ले मिस नेपालको स्टेजमा राम्रो छाप बनाएर आएका छन्। त्यसैले पनि उनीमाथि आशा छ। तर उनले फरक फरक व्यक्तिमा फरक क्षमता हुने कुरालाई विश्वास गर्छिन्।

‘नेपाल उही हो, मैले म कस्तो छु र मेरो देश कस्तो छ त्यसलाई सकेसम्म राम्रो तरिकाले देखाउने हो,’ श्रेष्ठ भन्छिन्, ‘पहिला के भएको छ भन्दा पनि अहिले के गर्नुपर्छ भनेर सोच्दैछु।’

दिनहरुलाई फर्केर हेर्दा उनी आफूलाई लाग्छ, ‘सन् २०१६ मा मिस नेपाल भएको भए, यत्ति कुरा बुझेकी हुने थिइन्। कति कुरा देख्न बाँकी रहेछ, सिक्न बाँकी रहेछ। पहिला मैले जितेको भए, सायद नेपाललाई राम्रो रुपमा विश्वसामु प्रस्तुत गर्न सक्दिनथे होला।’

श्रेष्ठले थपिन्, ‘मैले त कतिको जीवनबाट पनि पाठ सिक्ने मौका पाएको छु, आशा गरौँ राम्रो हुन्छ।’

तस्बिरहरु  : सुलभ श्रेष्ठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?