धनगढी-नेकपा स्थायी समिति सदस्य एबं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेश सभा भंग हुन सक्ने बताएका छन्।
प्रतिनिधि सभा बिघटन पछि पहिलो पटक गृह जिल्ला कैलाली पुगेका नेकपा ओली समुहका सुदूरपश्चिम प्रदेश संयोजक समेत रहेका मन्त्री भट्टले प्रचण्ड–माधब समुहका क्रियाकलाप हरेर सरकार थप निर्णय गर्ने बताए।
धनगढी पुगे लगत्तै यस अघि प्रचण्ड–माधब समुहले प्रदेश कमिटिको बिस्तारीत बैठक राखेको रुवस होटेलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने–‘अर्को समुहको गतिबिधि सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं, उहाँहरुले थप निहु खोज्ने गतिबिधि गरेर लगत्तै बस्ने स्थायी समिति बैठकबाट प्रदेश सभा भंग गर्ने सम्मको निर्णय हुन सक्छ।’
यही २४ गते धनगढीमा हुने ओली समुहको जनसभाको तयारीका सिलसिलामा ओली समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष संगै धनगढी पुगेका मन्त्री लेखराज भट्टले निर्वाचन तोकिएको समयमै बैशाखमा सम्पन्न हुने र अदालतको फैसला लगत्तै निर्वाचनका गतिबिधि तिब्र रुपमा अघि बढने बताए।
उनले भने–‘चुनाव बैशाखमै हुन्छ, ढुक्क हुनुहोस, सबैभन्दा ठुलो अदालत भनेको जनता नै भएकाले प्रतिनिधि सभा बिघटन गरि ताजा जनादेशका लागि जनता माझ आएका हौं, अहिले जो जता देखिएपनि बिस्तारै सबै मुल नेकपामा नै आउनेछन्।’
एउटै पार्टीमा रहेर पनि सरकारलाई राम्रा काम गर्न नदिने र प्रतिपक्षमा बसे जस्तो गर्ने पार्टीका केही नेताका कारण प्रतिनिधि सभा बिघटन देखि पार्टीमा समुह छुट्टीएको नेता भट्टले बताए।
पत्रकार सम्मेलनमा रहेका ओली समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले अर्को समुहले यस अघि सुदूरपश्चिममा गरेका सम्पुर्ण गतिबिधि खारेज भएको घोषणा गरे।
उनले भने–‘नेकपाको अध्यक्ष म हुँ,मलाई जानकारी विना २–४ मानिस कोठामा बसेर गरिएका निर्णय र गतिबिधि खारेज गरेको घोषणा गर्दछु।’ केही दिन अघि मात्र प्रचण्ड माधब समूहले सुदूरपश्चिम प्रदेश कमिटि बैठक धनगढीमै सम्पन्न गरि प्रदेश अध्यक्ष कर्ण थापा लगायत केही ब्यत्तिलाई कार्वाही गरि निल्म्बन गरेको जनाएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































