काठमाडौँ– साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्।
साहित्यकार तथा निवर्तमान सांसद डा. सुब्बा ४१२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेकाे निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिए।
यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो। डा. सुब्बा र डा. कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन्। संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलो पटक निर्वाचन भएको हो। विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो। निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ।
कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो। प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए।
सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो। निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो।
साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ।
शनिबार भर्चुअल रुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ।
संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक–एक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































