काठमाडौँ – बागमती सफाई महाअभियानको ४०० हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम भएको छ ।
२०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरु भएको बागमती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४०० हप्ता पुगेको हो ।
‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’ नारा दिएर बागमती सफाई सुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बन्ने क्रममा छ । आज (शनिबार) फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौँको मिनभवनमा विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले बागमती लगायत कुनै पनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सहभागिता जनाउनु भएकी कलाकार मनिसा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरे । नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने बताए ।
कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन् । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाई छ । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने बताइन् ।
मानिसहरुलाई कुनैपनि फोहोर नदीमा फाल्नु हुँदैन भन्ने शिक्षा दिनुपर्ने बताइन् । राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
बागमती सफाईको ४०० हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागिता भएको छ ।
महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।


भर्खरै
लोकप्रिय






































































































































































































