
मंगोलियाका प्रधानमन्त्री खुरेलसुख उख्नाले पदबाट राजीनामा दिएका छन्। कोरोना महामारीविरुद्ध काम गर्न नसकेको जनगुनासो बढेपछि उख्नाले राजीनामा दिएका हुन्। राजधानी उलानबटारमा उख्नाविरुद्ध प्रदर्शन बढिरहेको थियो।
उख्नाले जनताको मागको सम्मान गर्दै राजिनामा दिएको बताएका छन्। संसदले उनको राजीनामा अनुमोदन गर्नुपर्नेछ। एक सुत्केरी कोरोना संक्रमित महिलाको उपचारमा चरम लापरबाही भएको समाचार बाहिर आएपछि उख्नाको चर्को आलोचना भएको थियो।
करिब ३० लाख जनसंख्यामा भएको मंगोलियामा अहिलेसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन। त्यहाँ हालसम्म एक हजार ५ सय ८४ जना कोरोना संक्रमित भेटिएका छन्।